मेरो मनको हाल!

MP

नशा पिए जस्तै उनको बाङ्गोटिङ्गो चाल थियो 

उनको चाल जस्तै ढलपल मेरो मनको हाल थियो 

थुनी देऊन मुटु भित्र इशारा त यस्तै थियो 

मन चाँही कता थियो कुन्नि आँखा उनको यतै थियो ।।१।।


यता हेर्दै अन्त हेर्दै हातले कपाल सार्दै थिईन 

उनलाई के थाहा हरेक सासमा मेरो मुटु मार्दै थिईन 

मलाई लाग्यो उनको पनि दिलको हालत यस्तै थियो

मन चाँही कता थियो कुन्नि आँखा उनको यतै थियो।।२।।


मलाई देखि झस्किए झैँ सम्हालीन खोज्दै थिईन 

मेरो मनको सिंहासनमा राखिदिएँ रानी बनीन 

खासखुस गरिन साथीसँग कुरा शायद मेरै थियो 

मन चाँही कता थियो कुन्नि आँखा उनको यतै थियो ।।३।।


पाइला उनका सर्दै थिए म चाहिँ उडान भर्दै थिएँ 

एकै भेटमा उनकै बनेँ घरजम नै पो गर्दै थिएँ 

तिम्रै हुँ म सँधैभरि लाग्यो उनको भाव थियो 

मन चाँही कता थियो कुन्नि आँखा उनको यतै थियो ।।४।।


आइन नजिक मुटु रोकेँ, उनी हिडिन सरासरी 

अर्कै रैछ उनलाई कुर्ने फुल बोकी हातभरी 

कल्पनाको सागरमा प्रितको डुङ्गा डुब्नु थियो 

आँखा उनको अन्तै रैछ मलाई लाग्यो यतै थियो ।।५।।


हल्का मुस्कान पोखी हिँडिन छातिभित्र आँधी चलाई 

आँखाले नै जलाइदिइन किन चहियो लाइटर सलाई 

नशा पिए जस्तै उनको बाङ्गोटिङ्गो चाल थियो 

उनको चाल जस्तै ढलपल मेरो मनको हाल थियो ।।६।।


 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons