हृदयभरिको सलाम

MP
टाढा बस्दा आफ्नाहरुको सम्झना आउनु त के नौलो कुरा भयो र तर चाड पर्वहरु र बिशेष दिनहरुमा यो सम्झनाको बाढी आउँछ, कमजोर बनाउँछ, बलियो बनाउँछ। आज २०६९ सालको आमाको मुख हेर्ने दिन, आमाको याद सधैँ भन्दा धेरै आयो, साँच्चै बाढी झैँ।

नसम्झिएको त कुनै दिन छैन, तर आज झन् धेरै सम्झिएको छु
आमा तिम्रो वात्सल्यले नै त आज, एउटा "म" भएर उभिएको छु॥ 
मेरा हर तन्तुहरुमा तिम्रै ममता छ, ज्ञानमा तिम्रै दर्शन छाएको छ
आमाको मुख हेर्ने यो दिनमा आज, सम्हालिनसक्नु तिम्रो याद आएको छ॥

फोनमा कुरा पनि भएकै हो, भन्ने हरुले "माया ममतालाई दूरीले छेक्दैन" पनि भन्छन, तर खै.......... मनलाई सम्झाउन त्यत्ति सजिलो छैन। फेरि यसो सोच्छु, सबै प्रवासीको एउटै कथा त हो, के छोरा के छोरी, सबैले फोन गरेर कुरा गरे होलान, सबैकी आमाले आफ्ना सन्तानलाई आशिष दिईन् होला, अनि सबैले हत्तेरिका टाढा भईयो, मुख हेर्ने दिनमा पनि बोलि सुनेर चित्त बुझाउनु पर्यो भन्दै फोन राखेहोलान। मान्छेको जिवन परिस्थितीको दास हो भनेझैँ फेरी सामान्य जिवन बाँच्नु नै छ, सबैसामु ङिच्च हाँस्नु नै छ।

टाढा भएर के भो र आमा, तिम्रो आशिर्वादले निधार भिजाएको छ
तिम्रा सङ्घर्षका कथाहरुले, जीवन बाँच्न - हाँस्न सिकाएको छ ॥
हरेक हाँसोमा तिम्रो हाँसो अनि  चोटमा तिम्रै ममताको मलहम छ
मेरो मात्र हैन आज सबै आमाहरुलाई, हृदयभरिको सलाम छ॥


1 comments:

Friendycalls said...

वाह | कति भाग्यमानी छिन ती आमा जसको कोखबाट लेखकको जन्म भयो..... You are a true inspiration sir. Your mom should be so proud of you.

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons