एक दशक त पक्कै कट्यो तिमीलाई पहिलो पल्ट चिहाएर हेरेको! तर अहिले सम्झँदा हिजो जस्तो लाग्छ। हिजै त हो नि तिम्रो तस्बिर सहितको तिम्रो एउटा प्रकाशित लेखले मलाई मोहनी लगाएको। लेख त कती पढियो होला, लेखकको तस्बिर पहिले पनि नदेखेको त कहाँ होला र, तर के थियो कुन्नि तिमीमा, यस्तो लाग्यो कि त्यो तस्बिरबाट तिमी बाहिर निस्कन्छौ र मलाई भन्छौ "कत्ति मेरो तस्बिर मात्र हेर्छ्यौ, लौ म आएँ तिम्रो सामु, तिम्रै लागि, तिम्रो म" ......
उसको त तस्बिर मात्र देखेकी थिएँ, मेरो छट्पटिएको मनले उसँग भेट्ने ईच्छा गर्यो, ईच्छा पनि यस्तो बेजोड गर्यो कि म त्यो भेटको लागि त जे पनि गर्न सक्थेँ होला त्यति बेला (अहिले पनि सक्छु)। अनि खोज्न थालेँ म एउटा माध्यम उसम्म पुग्ने। कसैले मलाई सुटुक्क चिनाईदियो..... पर उभिएको...... मेरो मनले आफ्नो ठानिसकेको मान्छे.... मेरो "ऊ"। मन यति ढुकढुक भयो कि मलाई आफैँदेखि लाज लागेर आयो। त्यतीबेला सिनेमामा दगुर्दै गएर अङ्गालो हालेझैँ अँगाल्न मन लाग्यो उसलाई, तर म So called सोझी केटी अनि फेरि जेहेन्दार छात्रा, म कहाँ पाउँथेँ र त्यसो गर्न। आफुलाई जसोतसो सम्हालेँ, मन भारि बनाउँदै।
त्यसपछि शुरु भयो मेरो वास्तविक तडप, उसको हेराईको लागि। के सपना के विपना, मनभरि केवल हरपल उसैको याद अनि झझल्को मात्र रह्यो। एकदिन लाज पचाएरै त्यो माध्यमलाई उसँग भेटाईदिन अनुरोध गरेँ अनि तय भयो त्यो शुभ साईत मेरो मान्छेसँग आमने-सामने हुने। बेचैनी र छट्पटाहटमा त्यो दिन मैले कसरी कुरेँ आज सम्झँदा अचम्म लाग्छ। शायद उसँग आँखा जुध्ने क्षणको कल्पनाले मलाई बचाई राख्यो।
पल् पल् गन्दै मेरो मान्छेलाई भेट्ने दिन आयो! निन्द्रा कहाँ आयो र त्यो रात, उसको हालत कस्तो थियो मलाई थाहा थिएन र शायद मतलव पनि गरिनँ होला, उसले मलाई जुन नजरले हेरेको भएपनि मेरो तर हरेक सास उसकै भईसकेको थियो। समय आयो.... अलि चाँडैपुगेँ त्यहाँ....उसले नदेख्ने गरि लुकेर हेरेँ तर कसो कसो उसका आँखा मेरा आँखामा ठोक्किन पुगे। शरीरमा कुन्नि के प्रवाह भयो...त्यतिबेलै म त भुतक्कै मर्छु जस्तो लाग्यो। मलाई उ सम्म पुर्याउने माध्यमले एक अर्कासँग औपचारिकता निभाईदियो परिचय गराएर अनि आफ्नो बाटो लाग्यो। अब म उसको अगाडि नतमस्तक उभिएकी छु, उ पक्कै केहि बोल्दै थियो किनकी उसका ओठ चल्दै थिए... तर के बोल्यो केहि सुनिनँ... अचानक आफैँलाई सम्हाल्दै कुनै बहानाले उसको अगाडिबाट फुत्किन खोजेँ तर उ पछि पछि आयो। उसको हातमा केही थियो मेरा लागि, के थियो त्यो जरुरी थिएन, ठुलो कुरा त यो थियो कि उसले मलाई दिएको कुरा समाउँदा त्यसको एउटा छेउमा उसको हात थियो अर्को छेउमा मेरो!!
मेरो त्यो छोटो मीठो भेट, त्यही एउटै भेटमा सिमीत रह्यो निकै समयलाई। मैले अघि बढ्ने हिम्मत गर्न सकिन र मनमा हरदम एउटै आश जागीरह्यो एकदिन उसैले पहल गर्नेछ मसँग भेट्न। तर उसको मनमा शायद मेरो लागि कुनै भावना थिएन वा उसको मनमा अरु नै कोहि थियो वा उसले पनि हिम्मत गरेन, थाहा भएन। बर्ष दिन बित्यो त्यहि दोधारमा। सोचेँ अब मैले आश गर्न छोड्नु पर्छ... तर माया गर्न त कसरी छोड्न सक्थेँ र। यति समय बित्दा पनि मेरो मनमा बसेको उसको त्यो तस्विर अलिकता पनि धमिलो भएन। सबैले झैँ भाग्यलाई दोष दिएँ, मनमनमा लाग्यो कस्तो भाग्य रहेछ, जीवन शुरु हुनु भन्दा पहिले नै सकियो जस्तो लाग्यो।
एकदिन अचानक एउटा कुराले मलाई सतायो। जीन्दगीभरि उसको यादलाई मात्र अङ्गालेर बाँच्न त कठीन हुन्छ, एकपटक कोशिस नै नगरी मेरो मनले कसरी हार मान्न थालेको होला जस्तो लाग्यो। हिम्मत गरेर .. धेरै दिन लगाएर.. शब्द शब्दमा माया भर्दै लेखेको मेरो पत्र उसको हातमा पुग्यो। उसले तुरुन्तै भेट्न बोलायो तर आफ्नो जबाफ भेटमा मात्र भन्ने शर्त पनि राख्यो। त्यो दिन जति राम्री बन्ने कोशिस त मैले कहिले गरेँहोला र जीवनमा। ऐनाले ओके नभन्दा सम्म आफूलाई सजाई नै रहेँ।
परैबाट उसलाई देखेँ। बाटोको पल्लो किनारामा पर्खिरहेको थियो उ। त्यत्तिकै हात खुट्टा काम्न थाले। जसो तसो उसको अगाडि पुगेँ। उसको त्यो हलुका हाँसो भरिएको हेराई अझै प्रष्टै याद छ मलाई। पुग्दा पुग्दै यस्तो लाग्यो कि अब कुनै पनि पल उसले मेरो हात आफ्नो हातमा लिएर भन्नेछ मेरो पनि हालत तिम्रो जस्तै छ, मेरी मान्छे बन्छ्यौ? कान यति आतुर थिए सको मुखबाट यति सुन्न कि म बयानै गर्न सक्दिनँ। मेरो हातमा हात राखेन उसले, लाग्यो शायद के भन्ली भन्ने धक थियो होला, तर उसलाई के थाहा म कत्ती अघि उसकी भईसकेकी थिएँ। उसका ओठ चल्न थाले, मेरो मुटु फुत्त बाहिर निस्केला जस्तो भयो। उसले बोलि सक्यो, कारण के पेश गर्यो त न मैले त्यति बेला बुझेँ न अहिले नै बुझेकी छु, तर उसले मलाई आफ्नो मान्छे बनाउन चाहेन। म माथि चट्याङ्ग बर्षियो, आँशुको मूल फुट्ला जस्तो भयो तर उसको अगाडि आफुलाई कमजोर देखाउन चाहिनँ। उसलाई केहि नबोलि अन्तिम पटक आँखाको धित मरुन्जेल हेरेँ र त्यहाँबाट हिँडे। सबै शुन्य भयो, अब फेरि कहिल्यै हाँस्न सक्दिनँ जस्तो लाग्यो।
जीवन त जिउनु नै थियो। हाँस्न त हाँस्छु म अचेल पनि तर मेरो मन त्यो दिन पछि हाँस्न छोडेको छ, केवल मेरा ओठ हाँस्छन। त्यो दिन पछि उसलाई बाटोमा सम्म पनि देखेकी छैन। कहाँ छ, दु:खी छ कि सुखी छ, कहिल्यै मेरो बारेमा सोच्ने गर्छ कि गर्दैन, मलाई केहि थाहा छैन। तर यति थाहा छ मलाई कि आज पनि मेरो मनमा उसको लागि माया उस्तै छ। मर्नु भन्दापहिले एक पटक उसलाई भेट्ने चाहना छ। मेरो बनाउन सक्छु की भनेर हैन, मलाई त अब उसको यादसँग जीवन बिताउने बानी परिसक्यो। भेट्नु छ एक पटक किन कि मेरो हुन नसकेको मेरो मान्छेलाई सोध्नु छ यो एक दशकमा एक पल्ट त उसलाई मेरो याद आयो कि? कुनै दिन भेटेछु र उसले तिमीलाई सम्झिएँ भनेर जवाफ दिएछ भने बाँकि जीबन त्यसैमा कट्थ्यो कि..... यो सास अलि सजिलै जान्थ्यो कि...............अस्तु....
0 comments:
Post a Comment