आरती र Amen!!!!

MP
छोरी त्यस्तै साँढे तिन वर्षकी भई। उसलाई खाना खुवाउन निकै गाह्रो छ। खुवाउने सिलसिलामा टिभी मा आउने प्राय: कार्टुन क्यारेक्टरहरु मामाघर देखि ससुराली, पोखरा देखि सानफ्रान्सिस्को पुगेको जस्ता सयौँ कथा रचिसकियो होला। सँधैँको बिहान झैं आज बिहान पनि खाना खान कर गर्दा गर्दा बल्ल कुर्सीमा आई । अर्को कथा रचेर ठिक पर्दै थिएँ, छोरी चुप छ। यसो हेरेको त नमस्ते गर्दा झैँ दुबैहातका जोडेकी छ तर औँला क्रस गराएर आँखा चिम्लेकी छ। यसो के के भुतभुताएझैँ पनि गर्छे। अनि एकै छिनमा आँखा खोल्दै भन्छे "ए-मेन"।
बुढी र म छक्क पर्‍यौँ, तुरुन्तै बुझियो छोरीले प्रेयर गरिछ। बुढीले मेरो मुखमा हेर्दै भनिन् "स्कुल??" उसले गरेको क्रियाकलाप अबोध थियो, प्यारो थियो र साँच्चै भन्दा खानु अघि भगवान सम्झनु नराम्रो पनि के नै थियो र.... तर पनि मनमा कता कता चीसो पस्यो। 

यूटालाई धेरैले मोर्मनहरुको राजधानी नै मान्छन्। सन १८२७-३० तिर अमेरीकाको भर्मन्ट भन्ने ठाऊँमा शुरु भएको यो धर्म क्रिस्चियानिटीकै एउटा हाँगो हो। अहिले संसारमा नै सबै भन्दा चाँडो बढ्दै गरेको धर्म मा गनिन्छ। सुन्दा अचम्म लाग्छ, यि मोर्मनहरु जाँड-रक्सी (अल्कोहल) खाँदैनन्, चिया कफी कोक (क्याफिन) खाँदैनन् चुरोट खाँदैनन्, सबैले हरेक महिना चर्चमा आफ्नो कमाईको केही प्रतिशत दान गर्छन्, महिनाको एक दिन व्रत बसेर त्यो व्रत बस्दा जोगिएको खाना वा खाना बराबरको पैसा चर्चमा दान गर्छन्। मोर्मनहरुको जीवन दर्शन सुन्दा दशकौँ अघिको कुरा झैँ लाग्छ, जस्तो: केटीहरु छोटो लुगा नलगाउने, केटाहरु अनावश्यक दारी-कपाल नपाल्ने, बुक अफ मोर्मन र बाईबल मा बर्जीत गरेको कुरा नगर्ने आदि। समग्रमा भन्नु पर्दा हाम्रो हिन्दू धर्ममा जुन धार्मिक जीवनको वर्णन पाईन्छ त्यो यिनीहरुको दैनिकीमा झल्किन्छ। अपबाद जहाँ पनि हुन्छ नै, यो वर्णन धेरै जस्तो मोर्मनको हो, अपवाद छोडेर।
छोरीले पढ्ने स्कुल एउटी मोर्मन महिलाले चलाउँछिन्। मोर्मन चर्चले फण्ड गरेको युनिभर्सिटी देखि युटाका प्राय: सबै स्कुलमा खाना खानु अगाडिको प्रेयर होस, क्लास शुरु गर्नु अगाडिको प्रेयर होस वा बोलिचालीमा नै होस, धार्मिक प्रभाव यथेष्ट देखिन्छ। देखेका हरेक कुरा, राम्रो नराम्रो नछुट्टयाई सिक्ने उमेरकी मेरी छोरीले सजिलै मोर्मनहरुको दैनिकी टिप्दैछे। उसको स्कुल पढ्ने दर्जनौँ बच्चामा लौ है मेरो बच्चालाई चाहीँ तिमिहरुको धर्म नसिकाउ भन्ने कुरो पनि बेतुक नै भयो। आफ्ना वाल-बच्चालाई आफ्नो धर्म सिकाउने जिम्मा त आफ्नै हो। 
बुढा बुढीको सल्लाह भयो, अब बिस्तारै हाम्रो धर्मको बारेमा सिकाउने ! तर कसरी त? तिमीले स्कुलमा जे गर्छौ त्यहि गर, जस्तै खान खानु अगाडी भगवान सम्झने, नराम्रो काम नगर्ने.... आदि आदि..... तर भगवान चाहीँ जिजस हैन आफ्नो भगवानलाई सम्झ! यही भन्ने बिचार गर्‍यौँ। 
तर हाम्रो धर्म कहाँ त्यती सजिलो छ र!! व्रम्हा, विष्णु, शिव, देवि (काली, दुर्गा, लक्ष्मी, सरस्वती), गणेश, शिवको रौद्र रुप अनि तान्डव, विष्णु का अवतार अनि सहस्त्र नाम (हजार नाम), हरेक अवतारमा उनका सहयोगी भगवानहरु,  उनका वाहनहरु, महाभारतका कथा, रामायणका कथा, स्वस्थानीका कथा...... सिकाउने कुरा त लहरो तान्दा पहरो गर्जे झैँ अगाडी आए। यती मात्र कहाँ हो र! हाम्रो वरपर जे जति सृस्टि छन् (जस्तै बोट विरुवा, हावा पानी, घाम, जीव जनावर) यी सबै देवता हुन्। हामिलाई बाँच्न संसारका जे जति कुरा आवश्यक छन् ति सबै देवता हुन्। त्यति मात्र हैन यी देवताका कम्बिनेशन पनि देवता हुन्! हाम्रो धर्ममा ३३ कोटी (३३ करोड 330 million) देवताहरु हुन्छन। अनि आफैँलाई हाम्रा देवताहरुको वर्णन त कुनै देशको जनसङ्ख्याको वर्णन झैँ लाग्यो र कता कता हाम्रो धर्मको बेसिक परिभाषा साह्रै कठिन लागेर आयो। शायद क्रिश्चियानिटी संसारमा यती पपुलर हुनुको पछाडि यसको सरलता नै हो जस्तो लाग्यो। सरल भन्नाले एउटा भगवान मात्र भएको भन्न खोजेको मात्र हो।
हामीले सानो हुँदा धर्म सिकेको र कुरा बुझ्न गाह्रो भएझैँ कहिल्यै लागेन त, कसरी सिक्यौँ त हिन्दु धर्म भनेर यसो घोत्लिन मन लाग्यो। हुन पनि कक्षा १ देखि नै सिक्न थाल्यौँ धर्मका कुराहरु, हरेक चाड पर्व धर्म सँग गाँसिएका छन हाम्रा।  पाईला पाईलामा मन्दिर छन्। घरमा हजुरबा हजुर आमा, बा-आमाले पुजा गरेको देख्छौँ, श्राद्ध, सप्ताह, दशैँ, तिहार, तीज, जनै पूर्णीमा सबैमा पुजा देख्छौँ, हिन्दीमा नै सही रामायण, महाभारतका कथा हेर्‍यौँ र पो बिस्तारै बिस्तारै सिक्दै गयौँ त हिन्दु धर्म। अनि सबै भन्दा महत्वपुर्ण कुरा त अरु धर्मको प्रभाव पनि थिएन हामीलाई। वौद्ध धर्म र हिन्दू धर्मको अभुतपुर्व समिश्रण छ नेपालमा, मुस्लिम र क्रिश्चियन धर्म को प्रभाव त नागण्य नै थियो (हामी साना छँदा)। हामिलाई कुनै प्रकारको रिलिजियस डिस्ट्र्याक्शन थिएन।
धर्मले सामाजिक बिचलन आउन दिँदैन भनिन्छ। त्यसैले कुनै न कुनै धर्मसँग आबद्ध हुनु त पक्कै आवश्यक छ। बच्चाहरु पछि ठुला भएर आफ्नो विवेकले अरु धर्म मन पराए, अपनाए भने उनिहरुको निर्णयलाई सम्मान त गर्नै पर्छ। आखिर कुन धर्मको आधारभूत तत्व खराब छ र! तर आफुले सिकाउँदा त हिन्दू धर्म नै सिकाउने टुङ्गो गरेका छौँ हामिले। तर अघिनै भने जस्तै यो काम सजिलो रहेनछ। हामीलाई कसैले औपचारीक रुपमा कहिल्यै सिकाएन, हाम्रो सामाजिक र धार्मिक संरचनाले नै सिकायो। तर हामी र हामी जस्ता नेपाली जसले बाल-बच्चा परदेशमा हुर्काउँदैछन् तिनीहरुलाई यो ठुलो च्यालेन्ज रहेछ। हेर्दै जाउँ कहाँसम्म सफल होईन्छ।

0 comments:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons