बिहान कुद्ने रहर.........

MP
झण्डै २४-२५ वर्ष अगाडिको कुरो होला (४-५ कक्षामा हुँदा) एक जना बच्चुबा भन्ने गुरुले नैतिक शिक्षा (Moral Science) पढाउनुहुन्थ्यो। मलाई अझै प्रष्ट याद छ "हाम्रो दैनिकी" भन्ने पाठ पढाउँदा उहाँले भन्नु भएको "विद्‌यार्थीले हरेक दिन बिहान सके ४ बजे नसके ५ बजे उठ्नु पर्छ, त्यसपछि कम्तिमा आधा घण्टा दौडिनु पर्छ र अर्को आधा घण्टा व्यायाम गर्नु पर्छ र बिद्यालय जाने बेला नहुँदा सम्म पढेर बस्नु पर्छ। त्यस्तो गर्ने विद्यार्थी सँधैं परीक्षामा प्रथम हुन्छ।" अहिले भए गुरुबालाई हल्का र्‍याग गरिन्थ्यो होला "गुरुबा! हाम्रो कक्षामा भएका सबैजनाले त्यसो गरे भने सबै जना फर्स्ट हुन्छन् त?" भनेर!!
ठिक त्यसै दिन देखि मेरो मनमा मजैले गढ्यो, अब देखि हरेक दिन बिहान उठेर कुद्ने गर्छु। यसरी मेरो वाल मस्तिष्कमा बिहान कुदेर स्वस्थ हुने र हरेक जाँचमा प्रथम हुने भूत सवार भयो। प्रत्येक दिन राति सुत्ने बेलामा योजाना बन्न थाल्यो भोलि बिहान छोरो ४ बजे उठ्यो र कुद्यो कुद्यो।
अब कुरो के लुकाउनु!! राति घडिमा घण्टी (Alarm) लगाएर सुत्यो बिहानिपखको मीठो निद्रामा कतिखेर पत्तै नपाई घडिको गालामा थप्पड हानेर घण्टी बन्द गरिँदो रहेछ र अर्को कोल्टे फेरेर सुतिँदो रहेछ। बिहान आमा उठेर यसो उसो गरेको आवाजले पो बिस्तारै निद्रा खुल्ने..... अनि आमाले "ओई अल्छि चिया खान उठ्" भनेपछि बल्ल उठ्यो। अनि त मनभरि भइहाल्ने लौ बरबाद हुने भयो यो साल त अर्कै पो फर्स्ट हुन्छ कि क्या हो। अनि त्यसैबेला पेरि अर्को प्रण गर्‍यो, अब भोलि चाहीँ यस्तो हुँदैन। यो सिलसिला हरेक दिन चल्यो हरेक वर्ष चल्यो। वर्षमा ५-७ पटक नकुदेको पनि हैन हुन त। बच्चुबा सरको मार्ग निर्देशन अनुसार चल्न नसके पनि कसो कसो जाँचमा फर्स्ट त भइनै रहेँ तर कुद्ने धोको मनमा ज्यूँदै रह्यो। 
अलि उमेर बढ्दै गयो टिनएजर भइयो। शायद त्यो उमेरमा सबैलाई त्यस्तै हुँदो हो, बाँसुरी जस्तो तिघ्रो र पाखुरो अनि कुखुरे छाती तन्काएर हिडिन्थ्यो। आफ्नो अगाडी मत्ता हात्ती नै आएपनि मुलालाई सजिलै कुटिन्छ भने झैँ लाग्थ्यो। त्यसैताका नेपाल टिभीले हरेक शनिबार हिन्दी सिनेमा दिन थाल्यो। अनि त ति सिनेमा मा अक्षयकुमार, अजय देवगन, मिथुन, सन्जय दत्त, गोविन्दा जस्ता हिरोले एक पन्चमा ५-७ जना मान्छे कुटेको देखेपछि त ति हिरोहरुको ठाउँमा आफुलाई देखिने!!!! अनि त आफु पनि के कम। बिहान को निद्रालाई सजिलै लात मारियो। अरु दुई साथि केशब मिश्र (हाल पोल्याण्ड) र मनोज कुईँकेल (हाल नेपाल) सँगै बिहान बिहान रनिङ्ग गर्न थालियो (अलि अलि अङ्ग्रेजी जाने पछि त कुद्ने कुरै भएन, रनिङ्ग शुरु भयो)। बिहान ४ बजे कुद्यो त्यस्तै २-३ किलोमिटर अनि कहिले काहिँ त्यहाँ पुगेर मनोजले आफुले सिकेको मार्शल आर्टको केही काँटा पनि सिकाउँथ्यो। ओहो!!! अहिले यसो फर्केर हेर्दा लाग्छ क्या थियो त त्यो बेला को स्टेट अफ माईण्ड!! सफलताको सिँढी त फटाफट चढिँदैछ जस्तो लाग्थ्यो। त्यस्तै डेढ - दुई बर्ष चल्यो होला यो क्रम।
पढाईमा ISc  सकियो। सँगै पढेका साथि कोहि मेडिकल स्कुल गए, कोही ईन्जिनियरिङ्ग स्कुल त कोहि बिदेश..... अनि घट्न थाल्यो चुरिफुरी। कुखुरे छाती खुम्चिन थल्यो। बल्ल दिमाग मा छिर्‍यो .... "बिहान को कुदाई भन्दा पढाई ठुलो रैछ केटा !!"
पाटन कलेजमा BSc शुरु भयो। बिषय (केमेष्ट्री - जूलोजी - बोटनी)  त्यत्ती मन नपरेपनि पढ्नै थियो। एक दिन बिहान पाटन ढोका अगाडी अचानक ISc पढ्दाको घनिष्ठ (अहिले पनि घनिष्ठ) साथि योगेन्द्र मिश्र (हाल सिँचाई विभागमा डि.ई.) सँग जम्का भेट भयो। त्यो दिन उसले कलेज बङ्क गरायो र दिनभर Brain Wash गर्‍यो। ह्याँ मुला कहाँ BSc पढ्ने, छोड यार। बरु दुबै जना मिलेर BE को Entrance Exam को लागि तयारी गरौँ। त्यो दिन र अर्को २-३ दिन भरि दिमागमा उथलपुथल चल्यो.... अनि BSc छाड्ने निर्णय गरियो, जिन्दगिको बाटो बदलियो। घरैमा ISc फेरि पढ्न थालियो। Entrance प्रिपरेशनको लागी कुपण्डोलमा Progress Educational Academy भन्ने खूब नाम चलेको थियो, त्यहिँ जान थालियो। योगेन्द्र लगनखेल नजिक प्रयाग पोखरीमा बस्थ्यो, आफु बिहान ४ बजेको बस चढेर उसको डेरा पुग्यो, प्राय: ऊठिसकेको हुन्थ्यो। कहिले काहीँ चाहिँ टोलै ब्यूँझिने गरी चेन गेट हल्लाएपछि बल्ल ऊठ्थ्यो। अनि त्यहाँबाट शुरु हुन्थ्यो हाम्रो बिहान को कुदाई। प्रयाग पोखरी बाट कुपण्डोल को ३ कि. मी. बाटो......पछाडी ब्याग बोकेरै कुदिन्थ्यो। अनि त फेरि मन फुरुङ्ग, BE को preparation पनि चल्दैछ अनि बिहानको कुदाई पनि!!
BE Entrance Exam सँगै यो कुदाई बन्द भयो। BE को पढाई, टाढाको घरबाट ओहोर दोहोर र तेस्रो- चौँथो वर्ष तिर त ऊनिसँगको लुकीछिपी भेटघाट, कहाँको समय पुग्नु .....रनिङ्ग पनि बन्द भयो र कुदाई पनि।
MSc सकियो, १ बाट २ भईयो, देश छोडियो, PhD  सकियो, २ बाट ४ भईयो। अचेल बिहान काममा जाँदा कहिले काँही गोरीनानीहरु कुदेको देख्छु (गोरेभाई भन्दा गोरीनानी धेरै कुद्छन किन हो!) अनि अचानक हात पेटमा पुग्छ, मनमा लाग्छ ओहो पेट बढेर चौपट छ, कुद्नु पर्ने!! अनि फेरि यसो सम्झन्छु आवश्यकता, दायित्व र महत्वाकाङ्क्षाले कम्ता कुदाईरहेको छ र! अनि फेरी बच्चुबाले भनेझैँ अब त फर्स्ट हुनु पनि त छैन नि! अनि मुसुक्क हाँस्दै अघि बढ्छु। पेट बढेकोमा गर्व नलागे पनि बिहान नकुदेकोमा खेद पनि लाग्न छोडेको छ। अनि मेरो यो २४-२५ बर्ष अघिदेखि लेखिँदै आएको "बिहान कुद्ने" कथामा अर्को अध्याय थपिँदैछ जस्तो लाग्छ।
पहिले जस्तो "कुद्नै पर्छ" भन्ने आवश्यकता महसुस नभएपनि पनि किन हो कुद्ने रहर मनमा ज्यूँदै छ। कुनै दिन त पक्कै कुद्छु!!

0 comments:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons