आज बिहानै उनले फेसबुक को एउटा किस्सा सुनाईन्। साँच्चै घतलाग्दो कुरा थियो। भन्दै थिइन् कसैले फेसबुक मा लेखेको रहेछ "पहिला चाहेको धेरै कुरा थिएनन् र पनि जिन्दगी कति रमाईलो थियो, अहिले चाहेका धेरै कुरा छन् र पनि रमाईलो छैन"। उनको कुरा सुन्दा कता कता १७ औँ शताब्दीका कवि John Milton ले कल्पना गरे झैँ स्वर्ग हराएझैँ लाग्यो । कविले त बाईबल का कथामा स्वर्ग हराएको देखे तर मैले मानिसको जिन्दगीमा।
हुन त सबैको आ-आफ्नै परिभाषा होला स्वर्गको, मेरो पनि छ। सानोमा भेट्टाई खेल्दा, चोर पुलिस खेल्दा, चुँङ्गी खेल्दा, गुच्चा खेल्दा .... अझै सानोमा ईँटा घचेट्दै गाडी सम्झेर खेल्दा, हिलो मा खेलेर पत्तै नपाई लुगामा हात पुछ्दा अनि आमाले नदेख्ने गरि त्यो फोहोर लुगा लुकाउँदा कम्ता रमाईलो हुँदैन थियो। घर नजिकैको कनिकेको रुखको माथिल्लो हाँगामा पुग्दा चन्द्र यान नै चढेझैं मन पुलकित हुन्थ्यो। कहाँ थिए र ईलेक्ट्रोनिक खेलौना, पुर्व-ब्यबसायिक भन्ने किताबबाट कालो माटोको गाडी बनाउन सिक्दा मेकानिकल ईन्जिनियर भएझैं छाति फुल्थ्यो। खुशी हुन कुनै कारण नै चाँहिदैन थियो। जीवनमा स्वर्गको आभाष थियो।
मनले चाहेर पनि नपुगेका सयौँ रहर थिए तर पनि जीवनसँग कुनै गुनासो थिएन। १० बजे देखि शुरु हुने स्कुल को लागि बिहान ७:०० बजे निस्केर दिनमा १ ट्रिप चल्ने साझा बसमा बेस्सरी च्यापिदै स्कुल पुग्दा पनि स्कुल कत्ति रमाईलो लाग्थ्यो। साथिहरु धेरै थिए, बिमती थिए तर मन-मुटाव थिएन, प्रतिद्वन्दिता थिएन। सुविधा थिएन तर उमङ्ग थियो, साधन कम थियो तर सपना कम थिएन, क्षितिज सानो थियो तर कल्पना सानो थिएन, समय नै समय थियो तर जिम्बेवारी थिएन..... बुढा पाकाले भनेझैँ "दाँत थियो मकै थिएन!"
प्रकृतीको फ्ल-लेस डिजाईन देखेर मन चकित खान्छ - सबैले बढ्नै पर्ने, ठुलो हुनै पर्ने, जिम्बेवारी बोक्नै पर्ने....... छेउको सियो माझमा पुग्नै पर्ने! यसो सोच्दा लाग्छ जति उमेर बढ्दै गयो त्यति फुर्सदको समय कम हुन थाल्छ। समय त त्यहि हो हरेक दिन २४ घण्टाको तर पनि खै केहि गर्ने समय छैन। फोन मा २०० भन्दा बढी साथी-सङ्गतीका फोन नम्बर होलान्, तर बर्ष भरिमा पनि २-४ जनालाई काम परेर भन्दा फोन गर्ने मौका जुर्दैन। ईमेलका एड्रेस बुक ईमेल ठेगानाले भरिएका छन् तर तिनको प्रयोग कहिले हुने हो थाहा छैन। यसको मतलव न उनिहरुसँगको वैरभाव हो न त Anti-Social चरित्र हावी भएको हो, साँच्चै भन्नु पर्दा यो वेफुर्शदीको कारण मलाई थाहा छैन...... त्यही हो ..... समय छैन।
कतै जान साझा बसमा च्यापिने दिन त रहेनन् तर अहिले गईहालौँ भन्ने ठाउँ पनि छैनन्, हजार थरिका इलेक्ट्रोनिक गजेटहरु छन् चलाएर बस्ने फुर्सद छैन। दूनियाँ देख्ने सिक्ने र आफु ईश्वरको यो वृहद रचनामा कति सुक्ष्म रहेछु भनेर रियलाईज गर्ने क्रम चल्दो छ, कल्पनाका छालहरु सम्हालिँदैछन्.... किनारा लाग्दैछन्। जान्ने र सिक्ने अवसर असिमीत छन् तर फेरी समयको पावन्दीले त्यसमा पनि सिमितता लादेको छ। अब फेरी बुढापाकाले भने झैँ "मकै छ दाँत छैन"।
हुन त यो पनि जीवनको एउटा पाटो होला। भोलि फर्केर हेर्दा यिनै दिन प्यारा लाग्लान। वालबच्चा अवसरको खोजिमा हामीझैँ संसारभर भौँतारिँदै आफ्नो बाटो लाग्लान, वरिपरि कोहि नभएझैँ लाग्ला, जीवनका दायित्व सकिएर What Next को शुन्य जीवन पनि कष्टप्रद नै हुन्छ होला, नी:रस हुन्छ होला। तर अहिलेको यो बेफुर्शदी जीवन पनि सरल छैन। जीवन व्यस्त छ, ओगटिएको छ, बाहिरबाट हेर्दा मतलवी छ-स्वार्थी छ। हातमा धेरै चिज छन्, कुनैबेला सपना र कल्पनामा सिमत कुरा अहिले प्राप्त भएका छन् तर वाल्यकालमा जीवनप्रति जुन Passion थियो अहिले त्यो छैन। उमेरसँगै वालककालको स्वर्ग घुलिँदै बिलाउँदै जाने रहेछ। साँच्चै जीवनको स्वर्ग हराउँदै छ.......
अन्त्यमा यो गित ... मेरो कल्पना स्वर्गको ....
0 comments:
Post a Comment