पार्कको एउटा कुनामा पुरानो काठ र खिया परेको फ्रेमले बनेको लामो
बेन्च छ। नजिकै केटाकेटीहरुकोलागि पिङ र चिप्लेटी खेल्ने ठाउँ पनि छ। त्यो बेन्चमा
दाहिने खुट्टामाथि देब्रे खुट्टाको उपरखुट्टी लगाएर, देब्रेहातले
आँखामा परेको घाम छेक्दै राघव प्रताप सर बस्नु भएको छ। बेन्चको अडेस लाग्नेमा
दाहिने हात लमतन्न पार्दै टाउकोलाई त्यसै हातमा ढल्काएर क्याश र माया को चर्तिकला
हेर्दै हुनुहुन्छ। हुन त उहाँको नातिको नाम विकास प्रताप राखेको हो तर खै पास्नि
पछि एकै पटक अहिले भेट्दा सबैले क्याश भन्न थालेछन्। नातिनी मायाको नाम चाहीँ उही
रहेछ। ७ बर्षको नाति र ४ वर्षकी नातिनीलाई लिएर राघव सर हरेक दिन जस्तै यो पार्क
आउनु हुन्छ। छोरो रवि प्रताप (आर पी) र बुहारी अन्नु काम मा गएका छन्। बुढिया रमा
चाहीँ घरमै छिन्। राघव सरका दुबै छोरी नेपालमै छन्। जेठी छोरी रेवतीको त बिहे भएकै
१४ बर्ष भयो। ज्वाँईँले एउटा +2 कलेज चलाउँछन्। रेवती पनि
त्यहीँ पढाउँछे। उसका छोरा छोरी पनि ठुलै भैसके। कान्छी छोरी रमिला पनि नेपालमा नै
छे। १२ को जाँच सकेर अचेल टोफेल र स्याट गर्दैछे। १२ को रिजल्ट आउने बित्तिकै US जाने सपनामा खुट्टो उचालेर बसेकी छे। आर पी ले पनि के के सिकाउँछ
घरि घरि, US का कलेजमा दर्खास्त
हाल्न। सबै छोरा छोरी राम्रो बाटो लागेका छन्, पढाई लेखाई राम्रै गरेका छन्, बुढा
बुढीको स्वास्थ्य पनि ठिकै छ। यसरी समग्रमा हेर्दा राघव सरलाई जीवनसँग कुनै गुनासो
छैन, उहाँ आफुलाई एउटा Well Achieved व्यक्तिमा गन्नुहुन्छ।