पार्कको एउटा कुनामा पुरानो काठ र खिया परेको फ्रेमले बनेको लामो
बेन्च छ। नजिकै केटाकेटीहरुकोलागि पिङ र चिप्लेटी खेल्ने ठाउँ पनि छ। त्यो बेन्चमा
दाहिने खुट्टामाथि देब्रे खुट्टाको उपरखुट्टी लगाएर, देब्रेहातले
आँखामा परेको घाम छेक्दै राघव प्रताप सर बस्नु भएको छ। बेन्चको अडेस लाग्नेमा
दाहिने हात लमतन्न पार्दै टाउकोलाई त्यसै हातमा ढल्काएर क्याश र माया को चर्तिकला
हेर्दै हुनुहुन्छ। हुन त उहाँको नातिको नाम विकास प्रताप राखेको हो तर खै पास्नि
पछि एकै पटक अहिले भेट्दा सबैले क्याश भन्न थालेछन्। नातिनी मायाको नाम चाहीँ उही
रहेछ। ७ बर्षको नाति र ४ वर्षकी नातिनीलाई लिएर राघव सर हरेक दिन जस्तै यो पार्क
आउनु हुन्छ। छोरो रवि प्रताप (आर पी) र बुहारी अन्नु काम मा गएका छन्। बुढिया रमा
चाहीँ घरमै छिन्। राघव सरका दुबै छोरी नेपालमै छन्। जेठी छोरी रेवतीको त बिहे भएकै
१४ बर्ष भयो। ज्वाँईँले एउटा +2 कलेज चलाउँछन्। रेवती पनि
त्यहीँ पढाउँछे। उसका छोरा छोरी पनि ठुलै भैसके। कान्छी छोरी रमिला पनि नेपालमा नै
छे। १२ को जाँच सकेर अचेल टोफेल र स्याट गर्दैछे। १२ को रिजल्ट आउने बित्तिकै US जाने सपनामा खुट्टो उचालेर बसेकी छे। आर पी ले पनि के के सिकाउँछ
घरि घरि, US का कलेजमा दर्खास्त
हाल्न। सबै छोरा छोरी राम्रो बाटो लागेका छन्, पढाई लेखाई राम्रै गरेका छन्, बुढा
बुढीको स्वास्थ्य पनि ठिकै छ। यसरी समग्रमा हेर्दा राघव सरलाई जीवनसँग कुनै गुनासो
छैन, उहाँ आफुलाई एउटा Well Achieved व्यक्तिमा गन्नुहुन्छ।
६ महिने भिजिटर भिसामा आउनुभएका हजुरबा-हजुरआमालाई नाति-नातिनीको
वाल-लीला रमाईलो अनि आर पी र अन्नुलाई पनि किड्स फ्री भएर हिड्न पाउँदा फेरी ५-७
बर्ष अघि डेट गएझैँ लाग्ने, रमाईलो छ। राघव सरलाई
पोहोर साल टि यू को पोलिटिकल साईन्स प्रोफेशर बाट रिटायर्ड भएदेखि नै घर बसेर दिन
बिताउन साह्रै गाह्रो परेको थियो। अहिले केटाकेटीको चर्तिकला हेर्दै यसो भने उसो
भने भन्दैमा दिन बित्छ। पारिलो घामको तातोमा राघव सरको दिमाग चलिनै रहेको छ। अब २
महिनापछि त नेपाल फर्कनु पर्छ, रमिले पनि यतै आउली, अनि त बुढा र बुढीमात्र होईन्छ। यिनलाई हुर्काई बढाई गर्न, पढाउन लेखाउन पुरै जीन्दगी बिताईयो,
अब
आफ्नो उमेर ढल्कँदै गएपछि एक्लै हुने भईयो। रिटायर्ड भएदेखि नै राघव सरलाई यसै कुराले सताउन थालेको छ अनि अब बुढो भईयो भन्ने मनोभावनाले मनमा जरो गाडिसकेको छ । क्याश र मायाको खेलकुद नियाल्दा नियाल्दै कसो
कसो उहाँको दिमागमा एकोहोरोपन छायो।
त्यत्तीकै मा पार्कमा हल्ला बढ्यो,
अरु
भुराभुरी थपिएछन्। तिनीहरुलाई पनि हजुरबाउ-हजुरआमाले ल्याएका रहेछन्। निकै उमेरका
देखिने बुढाबुढीले गाडि रोक्दा नरोक्दै बाहिर निस्केर यता आईपुगेका केटाकेटीसँग क्याश-मायाको दोस्ती रहेछ। सबै मिलेर खेल्न थाले। राघव सर भने ती बुढाबुढीलाई
नियाल्दै हुनुहुन्थ्यो।
अनुहारको चाउरी र हिँड्दाको लरबराई
देख्दा ७० बर्ष पुगे होलान् भन्ने लख् काट्नु भयो राघव सरले। आफैँ सम्हालिन गाह्रो
बुढो गाडि चलाएर आएको छ, गाडि रोकेर पहिले आफु बाहिर निस्कियो अनि गएर बुढीको ढोका
खोलिदियो र हात दियो। बुढी मुसुक्क हाँस्दै बुढाको हातको भर लिँदै बाहिर निस्कीई। ती
गोराका बुढाबुढी राघव सर बसेको नजिकैको अर्को बेन्चमा आएर बसे। बेन्चमा बस्दा पनि
बुढोले हात छाडेन, बुढीचाँहीं बिस्तारै बुढाको ढाड मुसार्न थालि। राघव सरलाई यो सब
व्यबहार साह्रै बनावटी लाग्यो। खैरेहरुलाई खुब शो-अफ गर्नु पर्छ भन्थे हो रैछ
जस्तो लाग्यो। उहाँलाई त्यस्तो लाग्नु स्वभाबिक पनि हो किन कि बिहे को दिन बाहेक, यसरी
सबैको अगाडि आफ्नी बुढी रमाको हात समाएको याद छैन र त्यसको मतलव बुढीप्रति माया नभएको त
पक्कै हैन। खैरेहरुको यस्तै बानीबेहोर आफ्ना छोरा बुहारीले पनि देखासिखी गरेर घरी
घरी "हनी" भनेको सुन्दा उहाँको कन्सिरी तात्छ। "बिहे गरेर
भित्र्याएको दिन देखि आफुले बुढीलाई 'रमे' भनेरै बोलाईयो, रमेले पनि कुनै दिन आफ्नो नाम काढेको
याद छैन, यिनीहरुको नौटङ्की" भने झैँ लाग्थ्यो उहाँलाई। त्यतिमात्र कहाँ हो र!
बुहारी अनुशीला लाई आर पी ले 'अन्नु' भनेको सुनेर शुरुशुरुमा छोरो जोईटिङ्ग्रे नै
भयो झैँ लाग्थ्यो तर पछि बिस्तारै बानि पर्यो।
अचानक ति खैरेका जोडीले आफुतिर
हेर्दै मुसुमुसु हाँसेको देखेर राघव सर अलि सतर्क हुनु भयो। ति मध्ये बुढी चाँहिले
भनि "Are these your grandkids? They are so adorable. I thank
god for such beautiful creations"। बुढीले अझै थपि "I
bet your old age is flourished by these kids' beautiful smiles"। "या! या!" राघव सरको मुखबाट झट्पट् यही निस्कियो। अङ्ग्रेजी नआउने
त कहाँ हो र उहाँलाई तर बोल्ने बेलामा प्राय: यस्तै हुन्छ। यो छोटो संवादले राघव सरको
उनिहरु प्रतिको सोचाई नै परिवर्तन गराईदियो। त्यत्तिकैमा बुढोले सोध्यो "Where
are you from gentleman?" "I am from Nepal, the
country with Mount Everest. I am a retired Professor of Political Science in my
country's largest university." राघव सरले एकै
सासमा भनि सक्नु भयो अनि उठेर उनिहरु बसेकै बेन्चमा गएर बस्नु भयो। ति दुई बुढाबुढीसँग निकै बेर टुटेफुटेको अङ्ग्रेजीमा भलाकुसारी चल्यो।
राघव सरले शुरुमा निकै
अण्डरएस्टिमेट गर्नु भएको खैरे बुढो नासा को रकेट प्रपल्सन ल्याबको रिटायर्ड
साइन्टिस्ट रहेछ। बुढी चाँहि एउटा पब्लिक स्कुल कि रिटायर्ड प्रिन्सिपल रहेछे। उहाँलाई कुराकानीको
शुरुवातमा आफुले दिएको आफ्नो परिचय सम्झेर ग्लानी भयो। खैरेलाई शो-अफ गर्छन् भन्ने वहाँको
कमेन्टले फर्केर आफैँतिर झटारो हाने झैँ लाग्यो। त्यसमाथि खैरे बुढाले हरेक
वाक्यमा प्रोफेशर भन्दै गरेको सम्बोधनले उहाँलाई घोचिनै रह्यो।
उनिहरुका ४ जना छोरा छोरी रहेछन्,
३ वटी छोरी र कान्छो चाहीँ छोरा। छोरीहरु सबैको बिबाह भईसकेछ र नाति-नातिना मात्र ११ जना
पुगिसकेछन्। छोरो पोहोर साल यूनिभर्सिटी हिँडे पछि बुढाबुढी दुबैले सँगै रिटायर्मेन्ट
लिएका रहेछन्। बुढोले चहकीलो मुहार बनाउँदै सुनायो "छोरो पनि हिँड्यो, अब
आनन्द भयो। यत्तिका बर्ष पछि बल्ल हामि दुई बुढाबुढीलाई एक अर्कालाई दिने समय भयो।"
बुढिले थपि "३७ बर्ष अघि बिहे भएको पहिलो बर्ष त हो नि हामीले आफ्नो लागि
बाँचेको।" खैरे बुढाले आफ्नो पकेटबाट आई-फोन निकाल्दै भन्यो "ई हेर!!
कति बर्ष देखि रहर लागेको थियो, छोरो कलेज हिँडेकै दिन गएर किनेको मैले यो
आई-फोन"। त्यही फोनमा रहेको एउटा डकुमेण्ट खोल्दै उसले उनिहरुको बुढेसकालको योजना देखायो। पोहोर साल नै उनिहरु
ईजिप्ट पुगेका रहेछन् पिरामिड हेर्न। बुढीको रिटायर्मेन्ट को पैसाले एउटा RV
किनेछन्। यो साल त्यही RV चढेर बुढाबुढी All America टुर मा निस्केका रे। उनिहरुको अमेरिकाको ५० वटै स्टेट घुम्ने धोको
थियो रे, त्यहि पुरा गर्दै छन् रे। त्यही शिलसिलामा माहिली छोरीको घरमा
आईपुगेका रहेछन्। अब समर लाग्ने बित्तिकै बाहमाजको क्रुज टुरमा जान्छन् रे अनि त्यहाबाट फर्केर ईण्डिया र चाईना जाने योजना रहेछ। "अब
त नेपाल पनि आउँछौं" बुढिले थपी। राघव सरले पनि "ईन आवर कल्चर, गेष्ट आर गड, सो यु
विल स्टे ईन माई हाउस्" भन्नु भयो। अनि खैरेले अँध्यारो मुख लाउँदै "मेरो
घर भन्छस्, बुढिया बितेको कति भयो?" भनेर सोध्यो। राघव सरले कुरा प्रष्ट्याउनु भयो।
बुढो थप्दै गयो, चाईना बाट फर्कँदा
प्लेनमा नआउने, पानी जहाजमा महिनौँ लगाएर फर्कने रे। उनिहरुको लिष्ट लामो थियो।
अब ८-१० बर्ष बाँच्लान बढिमा तर उनिहरुको योजना कुनै २० बर्षे जवानको भन्दा कम
थिएन।
राघव सरले आफुलाई रोक्दा रोक्दै
पनि कसो कसो मुखबाट फुस्किहाल्यो। "हुन त म यो संसारको अर्कै कुनाबाट आएको
हुँ त्यसैले मेरो सोचाई फरक भएको हुन सक्छ तर पनि यसरि बुढेसकालमा सबै छोरा छोरी
देखि टाढा बस्दा एक्लोपन हुँदैन र? केही गरी बिरामी भए, अप्ठेरो परे के गर्छौ? अनि
बुढेसकालको कमाई छोरा-छोरीको लागि नसाँचेर सबै सिध्याउन कसरी मन मान्छ?"
खैरे बुढोले गम्भिर हुँदै जवाफ दियो "छोरा छोरीसँग टाढा त हुनु नै छ, आयू पनि
कति नै बाँकि होला र। यो ६५-६६ बर्षे जिन्दगिको ३७ बर्ष त हामिले तिनिहरुलाई नै
दियौँ, कहिल्यै "आफु" भनेनौँ। अब उनिहरु सक्षम भएपछि पनि उनिहरुकै पछि लागेर त हाम्रो रहर त सँधै को
लागि मरिहाल्छ नि। तिमी ईण्डियन लाईफ फिलोसोफीमा हुर्केको मान्छे, तिमीलाई के
सिकाउनु पर्छ र। तर यो संसारको संरचना नै यस्तो छ कि कसैले कसैको पनि साथ सँधै भर
दिन सक्दैन। शायद तिमी पनि तिम्रा मातापिता सँग छुट्टीसक्यौ नै होला। जतिन्जेल
बाँच्ने हो बुढा र बुढी सँगै हुनु पर्छ, बस्! एउटाको कमजोरी अर्कोले सम्हाल्ने,
अनि दुबै को राम्रो पक्ष सँगाल्दै बाँच्ने। बिरामी हुँदा अप्ठरो पर्दा बच्चा बच्ची
कती नै टाढा छन् र! संसारमा १ दिनमा नपुगिने कुनै ठाउँ छैन, पहिला जस्तो भए पो आउन
जान महिनौ लाग्थ्यो। अप्ठेरो पर्दा नहेर्लान कि भनेर सोच्नु भनेको त हामि आफैँले छोरा
छोरीलाई दिएको संस्कार प्रति शंका गर्नु जस्तै भयो। त्यसैले अब हामी त यो बाँकि
जिन्दगी आफ्नो खुशीले बाँच्दै छौँ, जीबनमा जे जे रहर दबाएर राखेका थियौँ त्यही
पुरा गर्दैछौँ। सबै भन्दा ठुलो कुरा हामी दुई सँगै छौँ, र हरेक दिन प्रेयरमा गडसँग
हाम्रो मृत्यु पनि एकैदिन गराईदेउ है भन्छौँ। बाँकि त उसैको मर्जी।"
ति खैरे
बुढाको हरेक वाक्यले राघव सरलाई प्रभावित पारिनै रह्यो। उसले गरेका जीवन
दर्शनका कुराहरु मध्ये सबै मन नपरेपनि धेरैले उहाँको मन छोयो। भौतिकबादी देशको
एउटा भौतिक शास्त्रीले यसरी पूर्वीय दर्शनसँगमेल खाने कुरा गरेको सुन्दा राघव सरको
दिमागमा निकै गहिरो छाप पर्यो। उहाँलाई किन हो आज आफ्नो रिटायर्ड जीवन
प्रतिको दृष्टिकोण बेठिक भएझैँ लाग्न थायो। सबैभन्दा ठुलो कुरा त उहाँलाई आफ्नो
बाँकि जीवनकोलागि कुनै योजना नै नभएकोमा साह्रै नमज्जा लाग्यो। स्कुल, कलेज पढ्दा
सम्म बुवा-आमाको योजनामा चलियो, त्यसपछि जागिर र बच्चाबच्चीको आबश्यकतामा दिनहरु
बिते। अब आएर जब समयले आफ्नो ईच्छा अनुसार बाँच्ने मौका दिएको छ, त्यो त मैले यी
खैरे जोडी नभेटेको भए, त्यत्तीकै गुमाउने पो रहेछु भन्ने लाग्यो। अनि उहाँलाई
अनायासै दायाँ-बायाँका आफ्ना नाता-गोता, साथी भाई को बीचमा आफुलाई निकै सबल र सुखी
स्थानमा भएको महसुस भयो।
राघव सर केहीबेर घोरिनु भयो, आँखाले कतै टाढा हेरेझैँ लाग्थ्यो। अनि उहाँले प्रष्ट सुनिने गरी निक्कै लामो सास तान्नु भयो। यतिबेला उहाँको नाकका दुबै फोहोरा फुलेका थिए, ओठमा मधुर मुस्कान देखिन्थ्यो।
राघव सर केहीबेर घोरिनु भयो, आँखाले कतै टाढा हेरेझैँ लाग्थ्यो। अनि उहाँले प्रष्ट सुनिने गरी निक्कै लामो सास तान्नु भयो। यतिबेला उहाँको नाकका दुबै फोहोरा फुलेका थिए, ओठमा मधुर मुस्कान देखिन्थ्यो।
खैरे
बुढालाई आफु अलि धेरै बेर नै बोलेछु भन्ने लागेछ कि कसो हो, उसले आफ्ना कुरा
बीचैमा रोकेर सोध्यो "तिम्रा योजना चाहीँ के छन्? कतै कुनै आईडिया हामिले पनि
चोर्न पो मिल्छ कि!" राघव सरले टि यू मा बिद्यार्थिलाई जवाफ दिए झैँ झटपट
भन्नु भयो "भर्खरै रिटायर्ड भएँ, पहिलो योजना नाति नातिनी हेर्ने थियो
त्यसैले यहाँ आएको अब बाँकि योजना बन्दैछ!"
यो गनथन निकै बेर चल्थ्यो होला तर
राघव सरको प्यान्टको गोजिमा राखेको फोन घ्यार-घ्यार गर्न थाल्यो। बुढियाको फोन
रहेछ। उताबाट आवाज आयो "हैन कति बेर बाहिरै बसिराख्या? एक्लै कतिबेर बस्नु,
भुरा पनि त भोकाए होलान। अब आए हुन्न?"। राघव सरले मुसुक्क हाँस्दै भन्नु भयो "हुन्छ
'रमा', आएँ अब!" अनि ति खैरे बुढाबुढीसँग फोन नम्बर आदान प्रदान गरिसकेपछि
एकदिन लन्च खान बोलाउँछु है भन्दै बिदा
हुनु भयो। घर फर्कँदा राघव सरको मुहार निकै उज्यालो देखिन्थ्यो। घर भित्र पस्दा
सम्म उहाँ "कल्पनाको गगन, मुस्कुराउने चन्द्र बन न..." भन्ने गीत
गुनगुनाउँदै हुनुहुन्थ्यो।
0 comments:
Post a Comment