एकदिन कैलाश दरबारको बार्दलीमा बसेर भगवान शंकर र माता पार्वती
पृथ्वीतिर अवलोकन गर्दै रहेछन्। माता पार्वती सँधैँ झैँ आफ्नो दैवी नेत्रले को-को
माथि भगवान शंकरको कृपा दृष्टि परेको छ, कोहि छुटेका पो छन् कि भनेर हेर्दै थिईन्।
सबै जना आ-आफ्नो कर्म र भाग-भोग अनुसारको जीवन बाँच्दै थिए। सबैमा भगवान शंकरको
कृपा दृष्टिको ट्याग देखियो तर भोले बाबाकै एउटा मन्दिर मा बसेको माग्नेमा माता
पर्वतीले सो ट्याग देखिनन्। त्यस माग्नेलाई माताजी ले पुरै दिन हेरिरहिन्। जतिबेला
पनि मन्दिको द्वारमा नै बसेको छ, आउने जाने कोहि सज्जनले दिए ठिकै छ नदिए कसैसँग
केहि कर गरेर मागेको पनि छैन, कसैको केही हानि-नोक्शानी गरेको पनि छैन। लुगा फाटो
पनि च्यातिएर झुत्रो-झुत्रो भएको छ, राम्रो सँग खान पनि पाएको छैन। संसारका सबै
जीवमाथि दृष्टि पुर्याउने भोले बाबाले आफ्नै मन्दिरको द्वारमा बसेर त्यस्तो दु:ख
पाएको माग्ने कसरी छुटाए भनेर माता आश्चर्यचकित भईन् अनि स्वभाबिक रुपमा अचम्मित
हुँदै सो कुरा भोले बाबा समक्ष राखिन्।