एकदिन कैलाश दरबारको बार्दलीमा बसेर भगवान शंकर र माता पार्वती
पृथ्वीतिर अवलोकन गर्दै रहेछन्। माता पार्वती सँधैँ झैँ आफ्नो दैवी नेत्रले को-को
माथि भगवान शंकरको कृपा दृष्टि परेको छ, कोहि छुटेका पो छन् कि भनेर हेर्दै थिईन्।
सबै जना आ-आफ्नो कर्म र भाग-भोग अनुसारको जीवन बाँच्दै थिए। सबैमा भगवान शंकरको
कृपा दृष्टिको ट्याग देखियो तर भोले बाबाकै एउटा मन्दिर मा बसेको माग्नेमा माता
पर्वतीले सो ट्याग देखिनन्। त्यस माग्नेलाई माताजी ले पुरै दिन हेरिरहिन्। जतिबेला
पनि मन्दिको द्वारमा नै बसेको छ, आउने जाने कोहि सज्जनले दिए ठिकै छ नदिए कसैसँग
केहि कर गरेर मागेको पनि छैन, कसैको केही हानि-नोक्शानी गरेको पनि छैन। लुगा फाटो
पनि च्यातिएर झुत्रो-झुत्रो भएको छ, राम्रो सँग खान पनि पाएको छैन। संसारका सबै
जीवमाथि दृष्टि पुर्याउने भोले बाबाले आफ्नै मन्दिरको द्वारमा बसेर त्यस्तो दु:ख
पाएको माग्ने कसरी छुटाए भनेर माता आश्चर्यचकित भईन् अनि स्वभाबिक रुपमा अचम्मित
हुँदै सो कुरा भोले बाबा समक्ष राखिन्।
माता पार्वतीको प्रश्न पुरा नहुँदै भोले बाबाले भने “ए.........
त्यो पाटे अल्छीको कुरा गरेकी प्रिये? त्यसलाई कसैले पनि सहयोग गर्न सक्दैन।" मातालाई भोले बाबाको जबाफ चित्त बुझ्ने कुरै भएन। भगवान शंकरले चाहे नहुने कुरा के
छ र यो सृष्टीमा भन्दै मातेको गन्-गन् शुरु भयो। लौन प्रभु त्यो बिचरालाई आफ्नै
मन्दिर अगाडि बसेर दु:ख पाएको कसरी हेर्न मिल्छ, लौ यसरी भएन, त्यसको पनि केहि
गर्नु पर्यो भन्दै रट लगाउन थालीन्। सबैलाई थाहै छ, बरु जङ्गली हात्तीलाई तालीम
दिएर सधाउन सजिलो हुन्छ तर गन्गने श्रीमतीसँग अगाडी कसको के लाग्ने। भोले बाबाले हार
मान्दै भने, “लौ प्रिए मैले भनेको मान्दिनौ, तिमी नै हेर मैले त्यो माग्ने लाई किन
बेमतलब गरेको हो।"
यती भनेर भोले बाबा कैलाश दरबारबाट अन्तर्ध्यान भए र त्यही
मन्दीर अगाडी पुगे। त्यो माग्ने अझै त्यसरी नै बसेको थियो। उता माता पार्वती
कैलाशबाट सबै हेर्दै थिईन्। भोले बाबाले त्यो माग्नेलाई भने “ओई अल्छी, म महादेव!
कैलाशबाट आएको। पार्वतीलाई तेरो दशा देखेर दाया लाग्यो र मलाई तेरो सहायता गर्न
पठाईन्”। यो सुनेर भुईँमा पल्टिराखेको त्यो माग्नेले सुती सुती यसो हेर्यो तर पनि
केहि बोलेन। त्यो माग्नेको चालामाला देखेर माथि माता पार्वतीलाई अचम्म लाग्यो।
भगवान शंकर अगाडि आउँदा पनि यसो उठेर ढोगभेट गर्नु खुशि पारेर यसो वरदान झार्नु,
मूर्ख मोरो!! मनमनमा यस्तो भन्दै माते हेरिनै रहिन्।
यता भोले बाबाले त्यो माग्नेलाई ३ वटा सुनका सिक्का दिँदै
भने, ल यी सिक्का लि.... तैँले जति पटक सिक्का गन्छस्, हरेक पटकमा एउटा सिक्का
बढ्नेछ। तेरो यो गरिबी पनि जाने छ। गरि खाएस्!! यति भनेर भोले बाबा अन्तर्ध्यान
भए। मातेले थाहा नपाउने गरी कता जङ्गलतिर गएर गाँजा-भाँङ-धतुरो को आफ्नो रेगुलर डोज
लिएर बसे।
महादेवको कुरा सुनेर त्यो माग्ने जोड-तोडले सिक्का गन्न
थाल्यो। तर २-४ पटकमा नै उसको स्पिड घट्यो र ८-१० पल्ट गनेर त्यो सिक्का गोजीमा
राख्यो। त्यसपछि आङ तान्यो र निकै ला.....मो हाई गर्दै भुईँमा पल्टियो। “यो भोले
बाबालाई नि कति फुर्सद भएको, बेकार मा कैलाश कैलास देखि आएर काम लागाएर गए। कस्ले
गन्छ तिन्को सिक्का!!” यसरी फतफताउँदै त्यो माग्ने निदायो। माता पार्वतीलाई उठ्नु
सम्म रीस ऊठ्यो र कैलाश दरवारबाटै त्यो माग्नेको गोजीबाट सुनका सिक्का गायब
गरिदिईन्। बल्ल बुझेँ स्वामीले किन यसलाई वास्ता नगर्नु भएको रहेछ, पुर्पुरोमा भएर
मात्र के गर्नु....... पाटे अल्छि मोरो... बेकारमा स्वामीको मूड खराब पारिदियो, अब
कति दिनमा छोड्ने हो भोले बाबाको डोजले र दर्शन पाईने हो............ भन्दै दरवार
भित्र तिर लागिन्।
आज Walmart जाँदा त्यहाँ एउटा खाईलाग्दो ३०-३२ बर्षको भुसतिघ्रे हातमा
एउटा कार्डबोर्डमा “२ दिन देखि भोकै, बच्चा र परिवारलाई खाने कुरा देउ” लेखेर
उभिएको देखेँ। सँगै त्यस्तै उमेरकी एउटी महिला थीई, श्रीमती होली भन्ने अनुमान
लगाएँ, साना-साना (२-४ बर्षका) दुईटा बच्चा पनि भुईँमा चल्दै थिए। अनि त्यो
श्रीमती चाहिँको हातमा पनि त्यस्तै कार्डबोर्ड थियो जसमा “पारिवारिक कारणले माग्न
बसेको” भनेर लेखेको थियो।
त्यो गोरेको सानो परिवार को बाध्यता के थियो त थाहा हुने
कुरै भएन। मान्छेले आफ्नै जिन्दगी बुझ्न त पुरै उमेर बिताउनु पर्छ भने गाडीबाट यसो
पास हुँदा देखेको मान्छेको बारे अनुमान लगाउँनु भनेको अँधेरोमा तीर हाने जस्तै
भयो। तर तुलनात्मक रुपमा संसारमा नै सबै भन्दा सजिलोसँग काम पाईने देशमा बसेको
मान्छे, शारिरीक रुपमा पनि निक्कै बलियो र खाईलाग्दो देखिने मान्छे कति सजिलै
परिवारलाई खुवाउनु पर्यो पैसा देउ भन्न सकेको हो! दिनभर Walmart को पार्किङ्ग लटमा बसेर बच्चा बच्चीको अगाडी
माग्नु भन्दा त कसैको Lawn को घाँसै काट्नु, कतै Farm मा गएर ४ घण्टा काम नै गर्नु। पैसा उति नै जम्मा
हुन्थ्यो होला तर आत्मसन्तुष्टी कति
मिल्थ्यो त्यो दु:खको कमाईमा। त्यस्का केटा केटीले पनि आवश्यकता पुरा गर्न काम
गर्नु पर्ने रहेछ दोबाटोमा बसेर भिख माग्ने हैन रहेछ भन्ने सिक्ने थिए होलान्। संसार भरिका मान्छे यही देशमा काम पाईन्छ भन्दै ओईरिन्छन्, यो मोरो चाहीँ यसरी मागेर बसेको।
सानैमा पढेको भोले-बाबा र माग्ने कथाको याद दिलायो आज
गोरेले। मिल्छ भने हाम्रै भगवान शंकरले नमिले त्यसकै जिसस दाईले मेहनत गर्ने
बुद्धी दिउन् गोरेलाई, न कि मन्दिरको ढोकामा बसेको माग्ने जस्तो।
0 comments:
Post a Comment