फरासिलो .......................... अत्ति नै

MP
भगवानले मान्छेलाई दुई - दुई वटा कान, आँखा  र हात खुट्टा दिए, दुइ प्वाल भएको नाक दिए तर मुख एउटा मात्र दिए। कुरा त सामान्य लाग्छ तर किन मुख दुइ वटा दिएनन् होला !  मुखको काम भनेको खाने र बोल्ने हो।  त्यसैले भगवानको Design Philosophy हेर्दा अलि असन्तुलित जस्तो लाग्यो। 

धेरै मा टम संग भेट भयो।  जस्ताको तस्तै रहेछ।  साँझ ८ बजे भेट भएदेखि राति ११ बजे सुत्न नजाँदा सम्म लगातार बोलि नै रह्यो। अर्को दिन बिहान पाउरोटी को बुजो हाल्दै उसले शुरु गरेको  "टम पुराण" दिन भर हुँदै फेरी राति ११ बजे सुत्न गएपछि बल्ल बन्द भयो! टम पुराण अर्थात उसका मपाईं, उसैका लजिक उसैका कथा व्यथा, उसैका प्याउँ प्याउँ। झण्दै ७ वर्ष पछि भेट भएको साथि भेट्दा रमाईलो लाग्नु पर्ने नि, तर अहँ लगेन। जति सक्दो चाँडो  विदा गर्न पाए हुन्थ्यो जस्तो भई नै रह्यो। 
कलेज पढ्दा साथीभाईले तपाईं त साह्रै रसीलो मान्छे, तपाईं त कस्तो फ्रेन्ड्ली, कस्तो सोस्सियल, कति सजिलै घुलमिल हुन सक्ने, कस्तो फरवार्ड !!! भन्दै उडाउने गर्थे, टम त्यसै त्यसै हावामा उड्थ्यो अनि झन् मच्ची टम पुरण सुनाउँथ्यो।  अब त बिहावारी भयो, वालबच्चा पनि भए अब अलि पाको  भयो होला भन्ने लागेको थियो।  तर टम जस्ताको तस्तै रहेछ।  अब त झन् उसका गफ गर्ने टपिक बढेछन।  श्रीमती, छोरा छोरी, जागिर, नयाँ  गाडी के के हो के के।
केहि समय अघि धेरैमा टम नेपाल गयो। स्वभाबिकै, उसका बुवा आमा धेरै खुशी हुनु भयो।  आदत से मजबूर टम ले बा-आमा सन्चै हुनुहुन्छ? सम्म पनि सोधेन, आम्मामा मर्ने लागेँ , कस्तो थकाई लागेको बाट शुरु गर्यो।  अनि फ्लाइट, उसको काम, उसका सहकर्मी, उसको तलब, उसले खाने तिहुन तरकारी, उसले नुन-तेल किन्ने पसल जस्ता कुराको डिङ्ग हाँकी नै रह्यो।  यस्तैमा फर्किने दिन आयो। बाउ आमाले छोराको बारे धेरै सुने तर आफुलाई भएको सन्चो बिसन्चो सम्म सुनाउन पाएनन्। तर बाउ आमालाई त् आफ्नो बच्चा जति को जाती लाग्छ र यो संसारमा, यो मोरो अलि अल्लारे छ भन्दै चित्त बुझाए।  
टम को हाकिम सँग अलि अलि चिनापर्ची छ मेरो।  काम मा त्यस्तै टम पुराण को आतंक रहेछ। मिटिङ्ग मा अरु कसैले बोल्नै नपाउने, हुँदा हुँदा आज भोलि उनीहरु सुटुक्क टम आई नपुग्दै मिटिङ्ग सक्छन रे। 
टमलाई गुड बाई भनेर खुईय्य गरियो।  त्यो राति वडा अनौठो सपना देखियो। इन्द्र भगवानले यत्तिकै आज धर्तीका मान्छे हरुबाट एउटा मान्छे छानेर त्यसको मनोकाङ्क्क्षा पुरा गरिदिने बिचार गरेछन। अचम्मको कुरा त त्यो भाग्यशाली मान्छे टम परेछ।  टमको अगाडी आएर इन्द्रले, "टम म स्वर्गको राजा इन्द्र हुँ, मा तिम्रो मनमा जे इच्छा छ त्यो पुरा गरिदिन …… " मात्र के भनेका थिए टम शुरु भई हाल्यो।  १०-१५ मिनेट आफ्नो पालो कुर्दा पनि टम पुरण नसकिएपछि इन्द्र अन्तर्ध्यान भए।  त्यत्तिकै मा मेरो निद्रा खुल्यो।  
म आफु लगायत हरेक व्यक्तिमा, केहि कम केहि बेशी त्यो टमको व्यक्तित्व ले बास गर्छ।  हरेक मान्छे लाई आफ्नो बारेमा सुनाउने इच्छा हुन्छ।  तर कहिले काहिँ आफुले जाने भन्दा अलि धेरै जान्ने, आफुलाई सही गलत को फरक देखाइदिने, आफ्ना सजिला आप्ठेरा समयमा सघाईदिने मान्छे पनि आउन सक्छन। त्यस्तो अवसर गुमाउन नपरोस भनेर भगवान ले दुईकान दुई आँखा र एउटा मात्र मुख दिएका हुन। टमसँग को भेटघाटले सिकाएको आजको ज्ञान यहि रह्यो।  



0 comments:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons