नयाँ तिर्थ

MP
फेसबुक मा एकजना काकाले आफ्नो status लेख्नु भो : "जुन २५ का दिन तिर्थ हिँडिने भईयो !!!!"   धर्म को नाम मा मुर्ति पुजाको कट्टर विरोधी हुनुहुन्थ्यो उमेरमा। अहिले आएर यसरी उहाँले  तिर्थ जाने पब्लिसिटी गर्नुभएको देखेर अलि अचम्मै लाग्यो। 
उहाँको त्यो फेसबुक को पोस्ट साह्रै Popular  भयो।  शुभयात्रा!!! शुभकामना !!!! कहिले फर्किने!! को को जाने !! कुन कुन तिर्थ भ्याउने ………… जस्ता अनगिन्ती संदेश आए।  बुढा मान्छेले ति सब कमेन्ट मा कि त Like मात्रै गरे कि Smiley 😊 पठाए, अल्छी लागेको होला, सबलाई बेलिबिस्तार लगाउन।  तिनै कमेन्ट को भिडमा कसैले "घुम्नुस घुम्नुस, मोज छ नि तपाईंलाई, छोरा छोरी अमेरिकामा ………… पैसा को कमि भएन!!" पनि लेख्न भ्याए। आ-आफ्नो धरताल-क्षितिज  ………… आ-आफ्नै सोचाई को सिमितता ! 
सबैले यत्रो हल्ला पीटिईसकेपछि अब चाँही भएन भनेर शनिबार बिहान म  भतिजो ले पनि भाइबर गरेँ। उताबाट काकाको चर्को अनि लेग्रो तानेको स्वर सुनियो।  "काका दर्शन गरेँ , तिर्थ पो हिड्न लाग्नु भएछ!" भनि मात्रै के सकेको थिए काकाको हाँसो ले मेरो फोन-कान दुवै घन्कियो। "हो बाबु आउने भयौँ………… तिर्थ, टिकट सिकट सबै तैय्यार छ! 'सोम्बारा दिन हिड्छौं।" काकाले यति भनिसक्दा पनि मैले कुराको पुरै भेउ पाउन सकेको थिइनँ। अनि सोधेँ "अनि काका बस कहाँ बाट छुट्छ? अनि पहिला कहाँ बाट शुरु गर्ने विचार गर्नु भएको। वनारस जाने अनि गया मा श्राद्ध अनि कता कता जान्छन नि है ?" मैले सामान्य हिसाबले सोधे तर काकाको अस्वाभाविक हाँसो जारी थियो।
"हाम्रो बस काठमाण्डु 'यर्पोटाँ आउछ अनि त्यहाँ'ड सिंगापुर अनि यल ए। " काकाले सुनाउनु भयो।  "हे ए ए ए ए ए काका US पो आउन लाग्नु भाको? अनि Facebook मा चाहिँ तिर्थ जाने भनेर लेख्नु भा'छन्त!" मैले यति भनि नसक्दै काका झन् उत्साहित हुँदै सुनाउन थाल्नु भयो "म त्यसै हाँसेको छु त! फेसबुकाँ देखिनस मान्छेका कमेण्ट? कसैले सुइँको पा'का छैनन् हामी कताको तिर्थ हिड्न लागेका भनेर! तैंले त 'था पाइनस!"  काकाको हाँसो जारी रह्यो।  मनमनमा " ह्या बुढा कहाँ जाने भनेर नभनी कसरि थाहा पाउनु त, मनका कुरा पढ्न सक्ने भए अहिले सम्म कहाँ पुगीसकिन्थ्यो !" जस्तो लाग्यो। तर मुखले चाहिँ काकाको अट्टाहास मा हाँसेरै साथ दिएँ।  
"काका, अमेरिका मा न कुनै प्रख्यात मन्दिर न पुजा पुजारी न भक्ति न भक्त ………… कसरि तिर्थ भयो?" मेरो यो कुरा सुनेपछि काका अलि सेलाउँदै भन्न थाल्नु भयो।  
उहिले हाम्रा बाहरुका पालामा मान्छे संस्कृत पढ्न वनारस जान्थे, अनि नेपाल फर्केर त्यहाँका तिर्थ का कुरा सुनाउँथे। घर फर्केर बाउ आमा काका काकी आफन्तलाई बटुलेर तिनै ठाउँमा तिर्थ गर्न लैजान्थे। तँलाई थाहै छ मलाई त मन्दिर गएर भगवान खुशी हुन्छन, धर्म हुन्छ भन्ने कुरा मा बिश्वास लग्दैन। मेरो बुझाइमा त तिर्थ भनेको धार्मिक पर्यटन हो, आफ्ना छोरा बुहारी छोरी ज्वाईं भाइ भतिज भान्जा भाञ्जी यस्तै संग कुनै नयाँ ठाउ जाने, जीवन को दैनिक नियम बाट बाहिर निस्केर केहि दिन घुम घाम गर्ने अनि मानसिक बिश्राम गर्ने।  यहि नै हो।  
मेरा पुस्ताका मान्छे ले नेपाल मा नै पढ्ने मौका पाए तर पनि बाउ-बाजे ले गरेझैं भारत मा तिर्थ गर्न गई नै रहे।  अब अहिले आएर तिमीहरुका पुस्ता अमेरिका अस्ट्रेलिया क्यानाडा युरोप पुगेका छौ। त्यहि पढ़ेउ तर फर्केनौ त्यहीँ  जागीर खायौ। नेपालमा भएका बुढा-पाका का लागि तिमीहरु बसेका ठाउँ नै तिर्थ समान भयो।  श्रवणकुमारले आफ्ना अन्धा बाउ-आमालाई देश देशान्तर घुमाए झैँ  तिमीहरु जहाँ जहाँ लैजान्छौ, त्यहि हाम्रो तिर्थ !!! 

काकालाई शुभ यात्रा भनेँ अनि यतै आएपछि भेटुंला भन्दै फोन राखेँ।  उहाँले जे जति व्यंगात्मक रुपमा कुरा गरे पनि एक प्रकारको अनौठो यथार्थ लुकेको छ यस कुरा मा। सामाजिक परिवेश अनुसार हरेक कुराको परिभाषा पनि परिमर्जित हुँदै जाने रहेछ।  तिर्थ गर्न आउन लाग्नु भएका काकालाई कुन कुन ठाउँ घुमाउन लैजाने भनेर योजना पो बनाउनु छ अब।  
*****


0 comments:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons