पेट लागेर हैरान छ अचेल। एउटा साथीले भन्थ्यो " यो पेट घटाउन २ महिनाको मेहनत तर बढाउन १ हप्ताको स्वाँम्-स्वाँम् दालभात"। नघटाउँ भने पनि परिवारभित्र मात्र होइन चिनेजानेका सबैलाई सुगर, ब्लड प्रेशर, कोलेस्ट्रोल के के हो के के। यहि "पेट घटाउने" लहडमा मौका मिल्दा यसो लम्किने बानि बसाउँन खोज्दै छु।
यस्तै हिड्ने क्रममा एउटा चौबाटोमा बाटो काट्ने पालो कुर्दै थिएँ, गाडीहरु हुँईकेको हुँईक्यै थिए। त्यसै उभिँदा चोर बाख्राले हरियो खोजे झैं दायाँ वायाँ मुन्टो घुम्नु स्वाभाविकै भयो। त्यस चौबाटो को दायाँ मोडमा भएको घरको Backyard (बगैंचा)लाई साईडमा पारेर मा उभिएको थिएँ । त्यो Backyard लाई घेरेको काठको बार (Fence) को अन्तरबाट च्यापिंदै बाहिर बाटोमा निस्किएको एउटा खरबुजाको लहरा मा मेरो आँखा पर्यो।
Fence बाहिर निस्केर त्यसै त्यसै लह-लहाएर बढेको त्यो खरबुजाको बोटमा कैयौँ चिचिला लागेका थिए ……. कुनै साना कुनै ठुला, नयाँ नयाँ फुल पनि फुलेका थिए। त्यसै मनमा कौतुहलता जाग्यो र बाटो काट्ने कुरा बिर्सिएर त्यो घरको Fence मा आँखा जोडेर यसो चिहाउन थालेँ। Fence भित्र त एकदम ढुङ्गै ढुंगा, सुक्खा जर्जर परेको, घाम नलाग्ने सेपिलो ठाउँ रहेछ। यस्तो ठाउँमा खरबुजा जस्तो रसीलो फल कसरी उम्रियो/बढ्यो होला जस्तो लाग्यो। बाहिर निस्केको मुख्य लहरोलाई आँखाले पछ्याउदै जाँदा त त्यो लहरो त त्यो Backyard मा होइन कि त्यो सँगै जोडिएको अर्को घरको Backyard मा पो उम्रेको रहेछ। जुन Backyard मा त्यो खरबुजाको जरा थियो त्यहाँ पनि त्यस्तै सुख्खा, घाम नलाग्ने सेपिलो, अँधेरो रहेछ।
कुनै ठुलै रहस्य पत्ता लगाए झैँ म गम्दै थिएँ। त्यो मूल जरा भएको घर मा कुकुर पालेका रहेछन। त्यसले मेरो जिउ भरि लथ्रक्क भिजेको पसिनाको गन्ध थाहा पाएर होला कसो कसो मैले पत्तै नपाई त्यसको Fence को छिद्रमा जोडिएको मेरो नाकैमा मुख ल्याएर हवाँSSSSङ्ग गर्यो। सानोमा भान्सामा पसेर चिनी चोर्दा चोर्दै आमा आइपुग्दा जसरी झस्किईन्थ्यो त्यस्तै तालु देखि पैंताला सम्मै झस्किएँ। त्यो कुत्ताको सन्तान छिमेक नै उचालुँला झैँ गरेर भुक्न थाल्यो।
म त्यहाँ बाट केहि थाहा नभए झैँ गर्दै फटाफट भागें र फेरी पेट घटाउने यात्रामा लागिपरेँ। मेरो खल्तीमा भएको फोनले मेरो पाइलाको गन्ति बढाउँदै गर्दा म भने त्यहि खरबुजाकै बोटलाई सम्झिदै थिएँ। बाटो हिड्ने म जस्तै दर्शकले त सजिलै भन्दा हुन् "यो नाथे खरबुजा पनि कति स्मार्ट, कहाँ कहाँ घाम छ रसिलो छ भनेर खोज्दै हिड्न जानेको। आफ्नो जरालाई कता कुन कुनामा छोडेर फल दिने बेलामा अर्कैको घर बगैंचामा अर्कैको सडकमा पुगेको। आफ्नो मूल थलोबाट कति सजिलै टाढा जान सकेको।" मलाई पनि त्यस्तै लाग्यो।
अनि फेरी मेरो मनले अर्को पाटो केलाउन थाल्यो। त्यो खरबुजा त्यहि Backyard मा उम्रियो तर त्यसले दिनु पर्ने अत्यन्त रसीलो फल को लागि चाहिने बातावरण त्यहाँ थिएन। अब त्यसले कि त ओइलाएर मर्नु पर्यो, कि जसो-तसो सिउँडीको रुप धरेर आफ्नो क्षमता विपरित सुक्खा खरबुजा उमार्नु पर्यो। कि यो खराबुजाले जस्तै यता उता छर छिमेक मा जहाँ गएर आफ्नो पहिचान अनुसारको फल बनाउन सक्छ त्यहिँ जानु पर्यो। मेरो नियात्रा का यी तीन पात्र, त्यो Backyard जसले भए नभएको पानी र खनिज दिएर त्यो खरबुजा उमार्यो, अर्को Backyard जसले त्यो खरबुजाको लहरालाई बाहिर सम्म पुग्ने बाटो दियो अनि त्यो खरबुजाको लहरो!! कहाँ उम्रियो कहाँ. . . . . . पुगेर फल्यो!
हामी नेपाली को कथा कति मिल्दो यहि खरबुजासँग। कोहि खाडीमा गएर फलेका छन्, कति पूर्वी एशिया, कति युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया. . . . . . जहाँ जहाँ भाग्य रुपी Backyard ले लग्यो, बाटो देखायो, त्यहिँ पुग्यो त्यहिँ फल्यो। जहाँ पुगेर फले पनि जरो अझै नेपालमै छ।
*****
0 comments:
Post a Comment