त्यो एक रात र मनमा उठेका तरङ्गहरु

MP
नेपाल छाडेको ५ बर्ष पुरा भयो। विद्यार्थी जीवन सकियो ब्यबसायिक जिबन शुरु भयो, बच्चा बच्ची भए, सोचाई फेरियो, उद्देश्य फेरियो, नेपाल को सम्झना उस्तै छ, यताको व्यस्तता उस्तै छ। एक्लोपनको महशुस उस्तै छ, हाम्रो समय पनि बित्दै छ सबै प्रवासी को जस्तै। 
अहिलेको अपार्टमेन्ट मा बसेको १७-१८ महिना भयो। अनेक रुप रंगका छिमेकी छन्। कहिले उनीहरुले झर्को लगाए कहिले हामीले लगायौं। सानातिना असन्तुष्टि बाहेक खासै केहि समस्या थिएन यो ठाउँ मा। सबै तिर मर्मनहरु छन्, भगवानक सच्चा सन्तान (Sarcasm छैन मेरो यो भनाइ मा)। सके सहयोग नै गरेका छन् नत्र ङिच्च हाँस्छन कुनै दिन असहयोग गरेनन। नेपालमा आफ्नो घर मा जस्तो स्वच्छन्दता त कहाँ मिल्छ र तर गुनासो थिएन। 
ज्यनुअरी २४, २०१२ को राति एउटा सानो घटना भयो जसले यो ठाउँ प्रतिको दृष्टिकोण नै परिवर्तन गरायो।
बच्चा बच्ची निदाउने तरखरमा थिए, म उनीहरुलाई निदाउन Comfort गर्दै थिएँ, कालु कम्प्युटर मा थिइन्। रति त्यस्तै १० बजेको हुँदो हो। उनि एकै सासमा भित्र आइपुगिन। बाहिरबाट कसैले भए भरको बलले हाम्रो ढोका धकेल्दै रहेछ। पिप होलबाट हेर्छु चिनेको मान्छे हैन। किन धकेलेको भन्दा भित्र आउनु पर्यो भन्छ। I wanna get in, open the door  एकोहोरो यत्ति भन्छ ह्यान्डल घुमाउदै धकेली नै रहन्छ। खुरुक्क गइहाल नत्र पुलिस बोलाउछु भन्दा पनि कुनै असर छैन। अब त ढोकाको फ्रेम चर्याक चर्याक गर्न थाल्यो। अमेरिकाको प्राय: Suburb Community मा मान्छे ले ढोका लक् गर्दैनन् न त ढोका Extra बलियो नै हुन्छ। यहाँ पनि त्यस्तै थियो तर अब त त्यो मान्छेको धकेल्याईले ढोका खुल्छ नै जस्तो भयो। यत्तिकै मा कालुले ९११ मा फोन लगाइन, आत्तिएर उनको बोलि पानीमा मुख डुबाएर बाहिर निस्केको मान्छे को जस्तै निसास्सिएको थियो। उताबाट पुलिस तुरुन्तै आइपुग्छन तिमीहरु त्यो मान्छेलाई भित्र छिर्न सके सम्म रोक्नु भन्दै थियो। हतियार छ छैन भनेर सोध्यो, कसले हेरेको थियो र, फेरी हेर्दा रहेनछ केहि हतियार हातमा। यता म चाँहीं सानोमा आमाले लगाएको तेल को बल सम्म लगाउदै ढोका खुल्न बाट रोक्दै थिए। यो सबै क्रम ५ मिनेट जति चल्यो। पिप होलबाट हेर्दै ढोका मा टाँस्सिएर बसें, कालुको ९११ संग कुरा सकियो, त्यत्तिकै मा त्यो मान्छे भाग्यो। किनभने फोन राख्नु अगाडी नै पुलिस बाहिर आइसकेछ। बाहिर आएर फ्लड लाइट बालेर चुपचाप निगरानी गर्दै रहेछ। अब चाही सुरक्षित भइयो जस्तो लाग्यो। सानी छोरी ले भन्दै थिइ "बाबा कसले हाम्रो ढोका बिगार्न लागेको?" उसको प्रश्न को जबाफ दिन पनि समय भएन अनि उ आफ्नै शुरमा सोधी रही "बाबा-मम्मा म संग किन नबोलेको ?" बल्ल कालुले उसलाई सम्हालिन। दश मिनेट Observe गरेपछि पुलिस भित्र आयो, सबै बेहोरा सोध्यो। केहि सहयोग चाहिन्छ कि भनेर सोध्यो। केहि पर्यो भने फेरी खबर गर्नु, अब केहि हुदैन Don't Worry we'll find him! भनेर हिड्यो। 
घटना त यत्ति हो। सामान्य - असामान्य ? थाहा छैन। तर यो घटनाले तरङ्ग ठुलै ल्यायो। कालु को र मेरो मनमा What if भन्ने सवालहरु थुप्रै आए। को हुन सक्ला त त्यो मान्छे भनेर निकै सोचियो अझै सोच्दै छौं । चिनेको मान्छे होइन, झुक्किएर गलत ढोकामा आएको मान्छे होइन किन भने ५ मिनेट सम्म अर्काको ढोका कसले धकल्छ। अहिले सम्मको निष्कर्ष मा त्यो मान्छे कि रक्सि कि ड्रग मा थियो उसलाई अन्तिम समयसम्म पनि आफु जहाँ छु त्यो सहि ढोका भन्ने नै भयो। तर पुलिस आएको थाहा पाएर भाग्नु ले प्रश्न त उठाउछ नै । चोर्न / लुट्न आएको त हैन, त्यस्तो हो भने भित्र मान्छे छ भन्ने थाहा पाएपछि त त्यस्ता चोर लुटेरा भागी हाल्छन। त्यसमाथि आमने सामने अर्को अपार्टमेन्ट को ढोका छ। खयर जो होस् हामीलाई टेन्सन दियो। 
राति निदाउन मुश्किल भयो, कति बेला निदाइयो कति बेला ब्युँझियो त्यसरी नै बित्यो रात, लामो रात। 
बिहान काममा नजाने सल्लाह गर्यौं, "मोरो फेरी आउछ कि", कालु को चिन्ता यहि थियो अझै छ। काम मा खबर गरें एउटा गोरे साथीले आज राति मेरो घर मा आएर सुत तिमीहरु भन्यो। त्यति भनिदिँदा पनि ठुलै भयो। 
सानै भए पनि नेपालि कम्युनिटी त सबै भन्दा नजिक हुने नै भयो आफन्त झैँ लाग्ने नै भयो नजिक र सम्पर्क मा भएका सबै जनालाई यस्तो भयो नि भनेर सुनाइयो। सबै जनाको आत्मीय सहानुभूति पाइयो मन हलुङ्गो भयो। सधैं झैं एक दाजु भाउजुले उस्तै अविभावकत्व देखाउनु भयो। सधैं झैं उहाँहरु प्रति आदर बढ्यो। एक जना साथीले "कस्तो 'खाते'  ठाउँ रहेछ” भन्न पनि पछी पर्नु भएन। आ-आफ्नो सोचाई हो, उहाले भनेको कुरा नि ठिकै हो 'खाते' भएकोले नै त यस्तो आइलाग्यो नि। तर भन्ने समय अलि नमिले जस्तो लाग्यो। कुन ठाउँ मा यस्तो हुन्न र, केहि महिना अगाडी संसार को सबै भन्दा सुरक्षित ठाउँ White House को कम्पाउण्ड मा कसैले  गोलि हानेको थियो। White House लाई 'खाते' भन्ने हिम्मत त कसरि गर्नु र त्यसो हुँदो हो त ओबामा दाइ त्यहाँ बस्दैन थिए होलान। आफ्नो आफ्नो सोचाईको सिमितता हो भनेरै बुझियो, नराम्रो लागेन। 
अब यो अपार्टमेन्टमा त नबसिने नै भयो Landlord ले सबै कानुनि तरिकाले आफ्नु सुरक्षित हुने गरि Contract  बनाउनु नौलो कुरै भएन। सबै जरिवाना तिरेर पनि लामै समय लगाउने रहेछन् "लौ अब जा" भन्न लाई। अर्को ठाउँ मा पनि यस्तो नहोला भन्न त कहाँ सकिन्छ र तर मनको सन्तोष भनेको निकै ठुलो कुरा रहेछ। 
यो घटना जिबन को अर्को एउटा राम्रो पाठ भयो। जति पढे पनि, जति कुरा सिके पनि जति परिपक्वता बटुले पनि एउटा कुरा कहिले सोचिएन छ। Emergency Preparedness रहेन छ। त्यो मान्छे भित्र  छिरेको भए के गरिन्थ्यो होला, उसंग हतियार भएको भए के गरिन्थ्यो होला, फोन गरेको ३ मिनेटमा पुलिस नआइपुगेको भए के गरिन्थ्यो होला। सबै भन्दा ठुलो कुरा होश नगुमाउनु भनेको त सधै सुनिन्छ  नि तर त्यो मान्छे यहाँबाट भागेर कता गयो पनि हेरिएन छ, गाडीमा गयो कि हिडेर गयो पनि हेरिएन छ। कतै सुनेको थिएँ जन्मिने प्रयत्न देखि चितामा जल्दा सम्म सिक्ने कुरा कहिल्यै सकिन्न रे, शायद यो अर्को एउटा पाठ थियो।  

2 comments:

Friendycalls said...

सरको घटना हामीजस्तो पाठकलाइ अहिले पढ्दा त खासै ठुलो के भएछ र जस्तो लाग्ला तर त्यस समयको भोगाई कस्तो हुन्छ, म चाहिँ ठम्याउन सक्छु | लगभग उस्तै घटना आफैलाई पनि परेकोले मात्रै |
अरु भन्दा पनि सरको ब्लग बारे कहिल्यै जानकारी थिएन, आज बल्ल थाहा पाएँ | अब उप्रान्त भने पर्खी बस्नेछु नयाँ ब्लग पोस्ट पढ्न |

'हो नि अर्को एउटा पाठ सिक्नु भयो, जिन्दगीमा पाठ सिकेर कहिल्यै सकिने रहेनछ' |

MP said...

Friendycalls:
कुरा एक दम सहि हो। भएको त के नै हो र! कसैले ढोका खोल्न खोज्यो, पुलिस आयो भाग्यो। तर त्यही ५ मिनेको अबधी चाहीँ अविस्मरणीय भयो। सुन्दा सामान्य भोग्दा "होरिबल" घटना भन्नु पर्ला :-)

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons