अन्तिम भोज को झलक...

MP
हरेक बर्ष क्रिसमसको बेला मैले काम गर्ने कम्पनीले एउटा कार्यक्रम गर्छ। त्यही क्रममा यो सालको जमघट आज साँझ एउटा ब्राजिलियन रेष्टुरेन्टमा भयो। ईम्प्लोयी र उनिहरुका स्पाउज गरेर त्यस्तै १०० जना जति थियौँ होला त्यो हलमा। ठुलो हलको एउटा कुनामा ८-१० जनाको कोएरले क्रिसमस केरोल गाउँदै थियो। खानेकुरा को सुवास र मधूर सङ्गितको लयमा त्यो हल मग्न थियो। त्यस्तैमा म नजिक बसेको एउटाले भन्यो "Hey guys eat as much as you can. They have been saying that the world is going to end tomorrow. You never know .... this can be your last dinner". उसले भनेको कुराको अन्तिम शब्द मेरो मनमा अड्कियो। Last Dinner!
धेरै बर्ष अगाडी (स्कुल पढ्दा)पुरानो पाठ्यक्रमको नेपाली किताब मा एउटा कथा थियो "अन्तिम भोज"। नेपाली आधुनिक साहित्यका हस्तिहरु मध्ये एक गोबिन्द मल्ल "गोठाले" ले लेखेको कथा अन्तिम भोजमा एउटा यस्तै भोजको कल्पना गरिएको छ। कथामा संसारभरिका मान्छे मिलेर पथ्वीको अन्त्य गर्ने योजना गर्छन र मिती तोक्छन। त्यही अन्त्य हुनु अगाडिको रात एउटा ठुलो भोज आयोजना गरिएको हुन्छ। सबै मान्छे हाँसीखुशी त्यो अन्तिम भोज मनाई रहेका हुन्छन्। उनिहरुमा आफ्नो नाश हुने कुराको दु:ख भन्दा प्रकृतीमाथि बिजय प्राप्त गरिने कुराको बढि खुशी देखिन्छ।

आज मेरो को-वर्करले कुरा गरेको अन्तिम भोजको कहानी भने अलि फरक खालको थियो। अमेरिकन महाद्वीपमा मा करीब ४५०० बर्ष अघिदेखि शुरु भएको एउटा मायान (Mayan) सभ्यता थियो। मायानहरुले यो महाद्वीपमा झण्डै ३४०० बर्ष लामो समृद्धशाली शासन गरे। उनिहरु गणित, विज्ञान, खगोलशास्त्र,वास्तुशास्त्र आदिमा निपूण मानिन्थे। हालै आएर उनिहरुको एउटा जटिल अनि खगोलीय र गणितीय हिसाबले अत्यन्तै परिष्कृत क्यालेण्डरको कुरा चलिरहेको छ। मायानहरुको सो क्यालेण्डर यही साल २०१२ को डिसेम्बर २१ दिन टुङ्गिने पुरातत्ववीदहरु दावी गर्छन। पुरातत्ववीदहरुको भनाई अनुसार, मायानहरुको बिभिन्न प्रकारका अभिलेखले क्यालेण्डरको अन्त्य हुने दिनलाई प्रलयको दिन वा सभ्यताको अन्त्य हुने दिनको रुपमा व्याख्या गर्छन् रे। कतै चाँहीं यो दिन भनेको मानव सभ्यता अहिलेको अवस्थाबाट Higher level of conscious मा रुपान्तरीत हुन्छ भनेको पनि सुनिन्छ। जे होस, भोलिको दिन संसार भर विश्व अन्त हुन सक्ने दिनको रुपमा हेरिँदै छ। वैज्ञानिकहरुले यी सबै भनाईहरुलाई तथ्य र आधारहीन हुन् भनेको भन्यै छन र पनि सोसल मिडिया र व्लगरहरुले यो बिषयलाई उछाल्न सम्म उछालेका छन्।
मेरो मनले त्यो को-वर्करको कुरा र स्कुलमा पढेको अन्तिम भोजको माहोललाई आज हुँदै गरेको क्रिसमस डिनरसँग मिसायो। यदि भोलि साँच्चै नै संसारको अन्त्य हुने दिन हुँदो हो कसैको घाँटीबाट कुनै खाना छिर्थ्यो होला? बच्चा-बच्ची लैजान नपाउने यो डिनरमा आफ्ना छोरा-छोरी छोडेर को आउँथ्यो होला? यी क्रिसमस केरोल गाउँदै गरेका कोरसको गला यसरी खुल्थ्यो होला? यो रेष्टुरेण्टमा हरेक टेबल टेबल चहार्ने खरायो झैँ फुर्तिला वेटरहरुमा यही जोश हुन्थ्यो होला? कुनै न कुनै मानव पुस्ताले त यस्तो अन्तिम दिनको साक्षी त बस्ने नै छन्, कस्तो हुन्छ होला उनिहरुको मनस्थिती त्यो अन्तिम दिन! यही सोच्दै म खुरु लेटश सलाद निलिरहेँ।

0 comments:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons