Dandelion र Jonathan

MP
कसैले जीवन भनेको योजनामा चल्छभन्छन् त कसैले जीवन अनिश्चितता र आकस्मिकताको भूमरी होभन्छन्। सही के हो थाहा छैन। यहि अ-परिभाषीत वा स्व-परिभाषीत जीवनमा कुनै पूर्व योजना बिना नै अचानक काम (जागिर) परिवर्तन गर्ने वाताबरण बन्यो, अर्को स्टेट सर्नु पर्ने भयो र त्यो सँगै अरु सयौँ कामको बाढि नै आयो। तिनै काम मध्ये आफु बसेको घर अहिलेलाई नबेच्ने बरु भाडामा लगाउने निर्णय भयो, तर मान्छेलाई घर देखाउनु अघि त यसो चिरिच्याँट्ट पार्नु पर्‍यो। घर वरिपरि उम्रेका झारपात हटाउन, दुबोलाई डस्दै उम्रेको Dandelion हटाउन, बगैचामा भएका रुखका हाँगाबिँगा छिमोल्न, झाडी छाँट्न, समग्रमा भन्नु पर्दा जाँगरिला छिमेकिहरुको घर जस्तै पार्न, निकै काम गर्नु पर्ने देखियो।
केहि महिना अघि दाहिने घुँडाको ACL (Anterior Cruciate Ligament) र त्यसको २ हप्तापछि PCL (Posterior Cruciate Ligament) पुरै चुँडिएपछि, यो खुट्टामाथिको Confidence लगभग हराएको छ। यो चोटले गर्दा गह्रौ कुरा उचाल्न, कुद्न, धेरै बेर घुँडा दोब्र्याउन, निहुरिएर केहि गर्न निकै असजिलो हुन्छ। घरको दैनिकी, दुबैजनाको जागीर, बसाईँ-सराईका अरु काम, भुरा-भुरीको काम सबैको चपेटाले गर्दा घर बाहिरको काम गर्न कसैको सहयोग लिने बिचार गरियो अनि एउटा मान्छे को खोजि भयो। खोजेकै दिन craigslist भन्ने वेबसाईटमा एउटाले त्यस्तै कामहरु खोज्दै गरेको भेट्टाईयो र त्यसैलाई बोलाईयो पनि।
शनिबार बिहान सातै बजे (शनिबार को बिहान ७ बजे भनेको त निकै चाँडै नै भयो नि!!) Toyota Sienna भ्यान घर अगाडि आएर रोकियो। २ मिनेट पनि ढिला नगरि समयमा नै आएपुग्यो जोनाथन। प्राय: यसरी श्रमजीबी काम गर्नेमा दक्षिण अमेरिकाबाट अबैधरुपमा भित्रीएका दाजुभाईको बाहुल्यता हुन्छ। यो जोनाथन पनि त्यस्तै एउटा गरिबी पिडित मनुवा होला भन्ने लागेको थियो। तर अनुमान विपरित ५०-५२ बर्षको सुकसुकाउँदो छाला र तेजिलो अनुहार भएको मान्छे ओर्लियो र गाडि हाँकेर ल्याएकि महिलालाई Thanks for the ride honey. I will give you a call as soon as I am done. Sorry once again to make you wake up this early भन्दै बिदा दियो। बोझिलो स्वरमा Alright भन्दै उसकि अर्धाङ्गीनी बाटो लागी।
शुरुमा त यो आफुले बोलाएको मान्छे होईन कि क्या हो भन्ने लाग्दै थियो तर अगाडि आएर Good Morning Sir, where is the job site? भनेको सुनेपछि यहि नै जोनाथन रहेछ भन्ने पक्का भयो। मनमा त्यो मान्छेको बारे अनेक कुरा खेलाउँदै र दर्जनौ अनुमान लगाउँदै काम बताउन थालेँ। घरलाई २-३ फेरो लगाएपछि, उसले काम बुझ्यो र ठुलो काउब्वोए ह्याट लगाएर काम मा जुट्यो। त्यती फुर्तिलो नदेखिएपनि काममा लगाव देखाएकोले गर्ला झैँ लाग्यो। शनिबारको बिहानको निद्राले अझै पुरै छोड्न मानेको थिएन, त्यसैले मन् मनमा यसलाई काम जिम्मा लगाएर एक झप्को लगाउनु पर्‍यो भन्ने सोच्दै तँलाई केहि चाहिन्छ कि नत्र मेरो काम छ भित्र भनेर सोधेँ। No sir, I am good भन्दै झार लुछ्न थाल्यो। ३ लिटर अट्ने कुलर जार मा पानी र आईस हालेर ल्याएको थियो उसले। लौ त लौ भनेर लुसुक्क बेडमा छिरियो।
५ मिनेट भएको थिएन ट्वाँङ ट्वाँङ बेल पो बज्छ। के भएछ भनेर बाहिर निस्किएको त त्यही जोनाथन रहेछ। तेरो Lawn Sprinkler मा यो एड्जस्ट गर्नु पर्ने रहेछ, त्यो रहेछ भन्न थाल्यो। झनक्क पारा तातीहाल्यो तर दिन भर काम लगाउन बाँकि छ भनेर ङिच्च दाँत देखाउँदै Ok. Thank You भनेर दुई सासमा फेरि बेडमा नै पुगेँ। 
एकैछिनमा फेरि ट्वाँङ ट्वाँङ बेल बज्छ। तेरो Flower Bed मा Drainage राम्रो भएन, त्यसैले पानी जमेर यो अरु झार-पात उम्रेको हो भन्छ बा!!! हैन यसके खोजेको चैँ के हो झैँ लाग्यो। यो ओहोरो र दोहोरो अनि रीसको झोँकले होला निन्द्रा भाग्यो। चियाको कप समाउँदै त्यसले गरेको काम यसो हेर्न थालेँ, काम त राम्रै गर्दैछ है, भनेर खुशी लाग्यो।  आफ्नो पेशा पनि Water Resource मै भएकोले Drainage भन्ने शब्द त दिनमा २० पटक बोलिन्छ होला। जोनाथनले पनि त्यहि शब्द प्रयोग गरेको सुनेर यसो गफ चुट्ने बिचार जाग्यो।
आफुलाई नयाँ मान्छे सँग कुरा शुरु गर्न अलि समय लाग्छ तर कुरा सुन्न र अरुका बारे जान्न चाँहि निकै मन लाग्छ, शायद यो उत्सुकता सामान्य मानवीय स्वभाब नै होला। कुरा गर्दै र सुन्दै जाँदा त छाँगाबाट खसे झैँ भयो। मान्छेलाई जीवनमा के पर्छ के पर्दैन जस्तो लाग्यो।
जोनाथन Massachusetts राज्यको एउटा suburb मा जन्मी-हुर्कि गरेको रहेछ। पढाईमा राम्रो गर्दै बायोलोजीमा स्नातक गरेको रहेछ। बाबु-आमाले अलि अलि सहयोग गरेपनि विद्यार्थी हुँदा कलेजको र आफ्नो खर्च जुटाउन खालि समयमा आफ्नो छर-छिमेकिहरुको lawn care को काम गर्दो रहेछ। छिमेकिहरुले पनि केटोले राम्रो काम गर्छ भनेर एक कान दुई कान हुँदै धेरैले काम लगाउन थालेपछि, एउटा सानो सानो कम्पनि नै शुरु गरेछ र आफ्ना ३ जना साथिहरुलाई काममा लगाएछ।
Undergraduate project मा एक बिशेष प्रकारको Algae को अध्ययन गर्दै गर्दा त्यो Algae ले उत्पादन गर्ने एक प्रकारको Enzyme लाई जम्मा गरेर, कच्चा तेल (crude oil) बनाउने तरिकामा निकै प्रयोग गरेको रहेछ। उसले भने अनुसार, यसरी बनेको कच्चा तेलबाट डिजेल वा पेट्रोल बनाउन सकिने रहेछ। कलेज सकिने बित्तिकै lawn care को बिजिनेश छोडेर यो कच्चा तेलको पेटेन्ट लिएछ र त्यसको व्यापारमा लागेछ। यसै क्रममा Utah राज्यमा जन्मि हुर्केकी गोरीसँग घरजम पनि बसाएछ। यसरी सानो उमेरमा नै व्यापारमा हात हालेको जोनाथनले आफ्नो भएभरको तन-मन-धन सबै यहि कच्चा तेल को व्यापारमा लागाएको रहेछ। व्यापार चलाउन प्राविधिक ज्ञान सँगै accounting  finance को पनि उत्तिकै महत्व हुने बुझेर Business Studies मा स्नातकोत्तर (मास्टर्स) पनि गरेछ। Massachusetts मा घर किनेर, महँगो गाडि चढ्दै कच्चा तेलको व्यापारमा झण्डै डेढ दशक बिताएपछी २००८-२००९ को विश्व आर्थिक मन्दीले उसको व्यापारलाई नराम्रो धक्का लागेछ। बिस्तारै आफ्ना कर्मचारी घटाउँदै, आफुसँग भएको चल-अचल सम्पत्ती त्यहि बिजिनेश जोगाउने प्रयत्नमा लगाउँदा लगाउँदै, जोनाथनको कच्चा तेलको सम्पूर्ण जहाज डुबेछ। बाँकि रहेको जाय-जेथाले business loan तिर्न नपुगेपछि उसले bankruptcy फाइल गरेछ। यो सबैको चपेटामा उसको Credit history देखि लिएर जीवनमा आर्जन गरेका सबैकुरा डुबेछन्।
अहिलेजोनाथन का बाबु-आमाले सस्तो state मा गएर बस्ने होस् भने, खाने बस्ने सहयोग हामि गरिदिन्छौँ भनेका रहेछन् र त्यसैले उसको परिवार केहि महिना अघि Utah मा बसाईँ  सरेको रहेछ। Utah मा भएका उसका श्रीमतीको परिवारले बस्ने ठाउँको व्यबस्था गरिदएका रहेछन्। ४ जना बच्चा, श्रीमती र आफ्नो जिम्मेवारी बहन गर्दै रहेछ जोनाथन। आफ्नो पेशाको काम खोज्दै हरेक दिन बिभिन्न कम्पनिहरुमा रेजुमे पठाउँदो रहेछ तर उसको खराब credit history  bankruptcy को कारणले काम पाउन नसकेपछि उहि आफ्नो पहिलो व्यबसाय (lawn care) मा फर्कन खोज्नै रहेछ। 'मैले जिन्दगी जहाँबाट शुरु गरेको थिएँ, अहिले फर्केर त्यहि ठाउँमा आईपुगेँ....' यति भन्दै उसले दुबै हत्केलाले आँखाहरुलाई भित्र दबाउँदै लामो उसले श्वास फेर्‍यो, निधारको पसिना पुछ्यो र फेरी भुँईको झार लुछ्न थाल्यो। सान्त्वनाका २-४ कुरा गर्दै उसलाई एक्लै छोडिदिएँ र आफु छायाँमा गएर बसेँ। साह्रै अचम्म लाग्यो, मनमा अनेक तर्नकनाहरु आए।
केहि क्षणमा जोनाथन नजिकै आयो र उसको कुलर बक्सबाट ठाडो घाँटी लगाउँदै निक्कै पानी पियो। अनि हँसिलो मुख लगाउँदै काम मा जुट्यो।
काम सिध्याएर हिँड्ने बेलामा उसले भन्यो अरु कसैलाई सहयोग चाहिएको छ भने मेरो नम्बर दिनु है, मलाई अब जति सक्दो चाँडो बाउ-आमा र सासु-ससुराको सहयोग लिन छोड्नु छ
जोनाथनको कथा सुनेर उ प्रति दया त लाग्यो नै, तर यति ठुलो उतार चढावको बावजुद उसले आफु र आफ्नो परिवारलाई जुन दृढतापुर्वक सम्हाल्दैछ, मेरो मनले त्यसलाई धेरै पटक सलाम गर्‍यो। बाबु-बाजेको सम्पत्तीका लागि मुद्दा लड्ने हाम्रो सामाजीक परिवेशमा मैले जोनाथनलाई उभ्याई हेरेँ। मन भित्र भित्रै हाम्रो समाज अनि जोनाथनको आकृतीलाई पालै पालो नियालिरहेँ।
 जोनाथन को मेहनतले यस्तो बनायो हाम्रो lawn
***

  

0 comments:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons