दम्भे पुल

MP
उसको पुरा नाम दम्भलाल गुरुङ्ग हो तर नागरिकतामा बाहेक उसले आफ्नो पुरा नाम कहिल्यै सुनेको छैन। उसको नाम दम्भे हो कसैले दम्भे को पछाडि दाइ थप्छन् कसैले भाइ कसैले काका….. काम खोज्दै आफ्नो जन्मस्थल छोडेर दम्भे  यहाँ आईपुगेको धेरै वर्ष बितिसक्यो।

उताको सम्झना अब केही बाँकि छैन, यहि सानो बस्तिको हिस्सा बनेेर बसेकोछ। यहि बस्तिका मान्छे नै उसका आफन्त बनिसके।
यो बस्ति नजिकै अर्को ठुलो गाउँ तर यी दुईलाई बीचबाट बग्ने एउटा निक्कै गहिरो नदिले छुट्टयाएको छ। दम्भे आफु जन्मेको ठाउँ छोडेर यहाँ आउँदा निकै कष्टसँग पौडि खेलेर यता आएको थियो। यो बस्तिमा आएको पहिलो दिन देखि नै उसले यो नदिमा एउटा पुल बाँध्ने दृढ निश्चय गर्यो। बस्तिका मान्छे पनि लागि परे तर दम्भेले प्राणै लगायो। यति सम्म कि त्यै पुल नजिकै छाप्रो हालेर बस्यो। चार प्रहर राति सुत्ने बाहेक अरु जतिबेला पनि पुलैमा लागिरह्यो। कहिले बुढापाकासँग कुरा गरेर जुक्ति अक्कल बटुल्ने कहिले घारि पसेर काठका मुढा ओसार्ने कहिले चोया बाटा डोरि बाट्ने केहि नपाए यसै आधि बनेको पुललाई हेरेर टोलाई रहने गरेर कुनै कुनै तरिकाले त्यहिँ लर्याङ्ग बर्याङ्ग गरि रहन्थ्यो। उसका छर छिमेकि मिलेको बेला, हात खालि हुँदा आउँथे सघाउँथे पालैपालो दम्भेको बिहान बेलुकाको छाक टारिदिन्थे।
महिनौँको मेहनतले पुल तयार भयो। बस्तिका मान्छे सबैले सर्वसम्मत भएर त्यो पुलको नाम राखे `दम्भे पुल´ कसैले पनि दम्भेको मेहनत को प्रशंसा गर्ने मुर्ख्याइँ गरेनन्। सबैलाई थाहा थियो दम्भेले यति नगरेको भए यो पुल बन्ने थिएन। यो बस्तिका बलिया-बाङ्गाले बाहेक अरुले पल्लो गाउँ देख्ने थिएनन्। यसरी दम्भेको मेहनत योगदानको बखान गर्नु भनेको घामलाई कति उज्यालो भनेर तारिफ गरेझैँ हुन्थ्यो। दम्भेलाई धेरै खुशि लाग्यो। तर आफु यति धेरै प्रफुल्लीत हुनाको कारण उसलाई थाहा थिएन। पुल तयार भएर हो कि उसको कल्पना ईच्छा शक्ति मेहनत ले जीवन्त रुप पाएकोले हो कि वा बस्तिले पुललाई दम्भे पुल भनेकाले हो .. जे ले सुकैहोस् दम्भे खुशि थियो।
पुल को प्रयोग असाध्यै हुन्थ्यो। आवतजावत बढ्नाले सबैको जीवनमा नै परिवर्तन आयो। यिनै दैनन्दिनीमा पुरै बस्ति व्यस्त भयो। दम्भेको पुल प्रेम यथावत थियो। बेला बेला जान्थ्यो सुसेली हाल्दै चारैतिर निरिक्षण गर्थ्यो। कतै खाँवा मकाएका भए फेर्थ्यो बाँध्ने कस्ने गरिरहन्थ्यो। बस्तिका मान्छेलाई पुलको चिन्ता थिएन उनिहरुलाई पुल दम्भेको हो उसैले हेर्छ झैँ लाग्थ्यो। दम्भेले यो पुल अरु कसैका लागि बनाएको थिएन त्यसैले अरुले हेर विचार गरेनन् भनेर उसलाई दुखेसो पनि थिएन।
खोलाको पानीसँगै समय फनि बगिरह्यो। एक दिन राती कहिल्यै नआएको निकै ठूलो आँधिबेहेरि आयो। असाध्यै ठुलो पानी पर्यो। भोलि पल्ट बिहानै झम्केश्वरी माईको मेला लाग्ने दिन थियो। हावा हुण्डरीको आवाज सुनेर गाउँलेहरुले ओछ्यानमा लडिलडि सोचे.. पुल उडाउने-बगाउने पो हो कि. अनि फेरि दम्भेलाई सम्झिए अनि मुसुक्क हाँस्दै कोल्टे फर्केर निदाए। गाउँलेले सोचे जस्तै दम्भे रातभर त्यो आँधि बेहेरीमा पुललाई जोगाईरह्यो। जता क्षति हुन्थ्यो त्यता तुरुन्तै मर्मत गरि हाल्थ्यो। तीन प्रहर रात यसरी डटेरै बितायो। थकाईले लोद दम्भे बिहानीपख त्यहीँ पुल मुनि निदायो। बिहान झिसमिसेमैँ गाउँलेहरु झम्केश्वरी माईको मेला मा जान निस्किए। सबै जना ठाँटिएर हो हल्ला गर्दै गाउँदै उफ्रँदै हिँडे। उता पुल मुनि दम्भेलाई भने देवी चढे झैँ काम छुट्यो. यति रीस उसलाई कहिल्यै उठेको थिएन। रातभरीको थकाईले झपक्क आँखा लाग्न पनि पाएको थिएन गाउँलेको रगरगी जगजगी शुरू भयो। सँग उभिएर एक वचन बोल्दा पनि नबोलि ठाँटिएर हिडेका.. भन्दै दाँत किट कीट पार्दै त्यहाँबाट सरासर घर गयो। मट्टीतेल को टिन सलाई बोकेर आयो पुलमा खन्याएर आगो सल्कायो। पानीले भिजेको काठ पनि मट्टितेलको उल्क्याँईमा लागेर ह्वार ह्वार दन्कियो।
अलि पर पुगेका गाउँले कुद्दै फर्किएर आए। उनिहरु आईपुग्दा पुल पुरै आगोमा लपेटिएको थियो। हेर्दा हेर्दै आगोले पुलको नामो निशाना नै मेटायो। यति बेला दम्भेको रीस मरिसकेको थियो। हो हल्ला सुनेर सबै गाउँले फर्किए अनि बिलखबन्द परेर खोला पारि गजधुम्म उभिए। यता दम्भे भने जलेर खरानी भएको पुल, नदी पारिका गाउँले खालि बस्तिको नजिकै उभिएको आफुलाई पालै पालो हेरि रह्यो।


0 comments:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons