रङ्गीन चस्मा

MP
मोहितले निदाउन खोजेको धेरै बेर भईसक्यो। ओल्टे कोल्टे गर्दा गर्दै उ त्यत्तिकै मुसुमुसु हाँस्न थाल्यो। ६-७ कक्षामा पढ्दा को कुराको सम्झनाले उसलाई स्कुले दिनमा पुर्यायो। एकदिन उसका नजिकका १-२ जना साथिले अचानक चस्मा लगाउन थाले। त्यै दिन घर गएर मोहितले पनि बुवा-आमाको अगाडी गर्नु सम्म तमासा गर्यो "आँखा हेर्न गाह्रो भयो, टाउको पनि दुख्छ, ब्ल्याक बोर्डमा लेखेको पनि देख्दिनँ" ….. त्यसै हप्ताको शनिबार बुवाले लगेर आँखा देखाए, मोहितले जानि जानि त्यो उल्टो पाल्टो  ABCD लेखेको बत्तिमा हेर्दै तल्लो लाईनको कुनै अक्षर देख्दिन, दुई वटै आँखाले नै देख्दिनँ भनिदियो। आँखाको डक्साब लाई पनि चिट्ठै पर्यो। भोलि स्कुल गएर रबाफ जमाउने स्पष्ट अभिलाषा लिएर मोहित अस्पष्ट दृष्टि दिने चस्मा ढल्काउँदै घर आयो।

आज त्यो नाटक गरेको कम्तिमा २५-२६ बर्ष पछि उसलाई साँच्चिकै चस्मा चाहियो। परको कुरा नदेख्ने गरि उसका आँखा बिग्रिएछन्। आज आँखा बिशेषज्ञको बाट फर्कँदा मोराले कति पैसाको बिल पठाउने हो भन्ने पिरलोमा उसको चस्मे रवाफ अस्पष्ट थियो तर चस्माले दिने दृष्टि स्पष्ट!
बल्ल बल्ल निदाएको मोहितले अनौठो सपना देख्यो। सपनामा उ एउटा देवदुतसँग थियो। देवदुतले उसलाई भन्यो "मनुवा! भन् के ईच्छा छ? पुरा गराईदिन्छु।" मोहित अक्क न बक्क पर्यो …… के भनुँ के भनुँ ….. त्यसमाथि यो देवदुत माथी खासै उसलाई बिश्वास पनि लागिरहेको थिएन। दिनभरि नयाँ चस्माले कान पछाडिको हड्डीमा टनक टनक दुखाईराखेको थियो, त्यसै अन्योलमा भनिदियो "ल सक्छौ भने मलाई यो चस्मा लगाउन नपर्ने बनाईदेउ"। 
देवदुतले हाँस्दै भन्यो "मूर्ख छस् मनुवा तँ! चस्मा त साह्रै ठूलो चामत्कारिक यन्त्र पो हो त। लौ आइज आज यही चस्माको ज्ञान दिन्छु।"  उसले त्यति भनिसकेर यसो चुट्की बजायो, मोहित र उ दुबै त्यहाँबाट अन्तर्ध्यान भए र सिधै एउटा ठूलो झ्याल भएको मधुरो प्रकाशमा गम्किरहेको कोठामा उत्पत्ति भए।
देवदुतले टेबलमाथि लहरै राखिएका ४-५ थरी रङ्गीन चस्मा देखायो र भन्यो "हेर् यी चस्माहरु। यी हरेक चस्माले एउटै मान्छेका फरक फरक प्रतिमा देखाउँछन्। कुनै चस्मा लगा अनि जसलाई हेर्न मन छ त्यसको नाम लि …… म एक छिनमा आउँछु।"
मोहितले कुनै एउटा चस्मा टिप्यो र लगायो। कसलाई हेरुँ भनेर सोच्दा सोच्दै आफ्नी श्रीमतीको नाम लियो "सिलु!" नभन्दै उसकी श्रीमती उसको आँखा अगाडि देखापरि। सात बर्ष अघि बिहेको अघिल्लो दिन फेकबुकमा उसकि सिलुले राखेकी फोटोमा जस्तै सुकसुकाउँदी, कोमल, राम्री, दयालु, मिजासिली, मायाकी खानि, स्मार्ट, हट …… के के हो के के …..सबै देख्यो। गर्व गर्यो उसकी सिलु माथि।
अनि अर्को चस्मा टिप्यो र फेरी सिलुलाई नै हेर्न थाल्यो। अचानक उसकि सिलु चेन्ज भई। चाहिने नचाहिने कुरामा रिसाऊने, झर्किँदै खुट्टा बजार्दै हिँड्ने, अनेक कुरामा खोट निकालेर उसलाई होच्याउने, कस्ती कस्ती नाप्पिएकी सिलु लाई देख्यो।
झटपट चस्मा फेर्यो। फ्याशनेबल, मोडर्न, एडुकेटेड, कन्फिडेण्ट, सोसियल सिलु।
फेरि अर्को चस्मा लगायो अनि देख्यो खर्चालु, शंकालु, अलि मतलबि सिलु। धत् के हो यो सब्!!
अब उसको सबैभन्दा मिल्ने साथिको प्रकाश उर्फ पर्के को नाम लियो। पहिलो चस्माले देखायो मिलनसार, always there जिग्री, कहिले काहीँ सिलुसँग झगडा परेर जाँदा काँधमा हात राखेर “हुन्दे यार” भन्दै सम्झाउने पर्के, दिन-दाहाडै कामबाट भागेर सोमरसमा साथ दिने, विकएण्डमा सधैँ एभाईलेबल साथि।
अर्को चस्माले देखायो मन भित्र कपट लुकाएको पर्के, उसको प्रगतीमा भित्र भित्रै जल्ने पर्के, हरेक पटक भेटेर फर्केपछि गएर श्रीमतीसँग आफ्ना कुरा काट्ने पर्के, त्यतिमात्र हो र…. उसकी सिलुलाई लुकीछिपी घटिया नजरले हेर्ने घाती……... मोहितको दिमाग रन्कियो।
छोराछोरी सम्झियो। मायाका प्रतिमुर्ती, अबोधता र निश्छलताका साक्षात नमूना, जीवनमा सार्थकता दिने उर्जा, उ र सिलुका सृजना…….
तिनै छोराछोरीलाई अर्को चस्माले देखायो टेन्सनका भारी, कामका बोझ, कमाई र समय खर्च गराउने साहु, ठुला भएपछि आफ्नै शाखा सन्तान बटुल्दै आफुलाई फर्केर नहेर्ने मतलवी प्राणी……
बुवा-आमा, दाजु भाइ, दिदी बहिनी, नाता गोता, शत्रु मित्र, सबैलाई निहाल्यो मोहितले। सबै मित्रमा शत्रु पायो, शत्रुहरुमै लुकेको मित्र पनि पायो, सबै आफ्नामा पराई भाव पायो पराईमा अपनत्व पायो…. कस्लाई बिश्वास गर्ने कस्लाई नगर्ने कस्लाई आफ्नो ठान्ने कस्लाई पराई ……  कस्को मन सङ्ग्लो कस्को धमिलो …..
यो असीम द्विविधाले मोहितको दिमाग सुन्निएझैँ भयो। केही सोच्न सकेन। त्यस्तैमा देवदुत आईपुग्यो र सोध्यो “कस्तो लाग्यो त मनुवा चस्माको चमत्कार?”
मोहितले सोध्यो “यो सब कसरी सम्भव छ? ति सब मेरा आफ्ना हुन्, तिनमा कसरी यस्तो तामस रुप हुन सक्छ? तिमीले मलाई हिप्नोटाईज गरेर जे पायो त्यही देखाउँदै छौ।”
देवदुतले भन्यो “ति मान्छेहरुमा किन तामस रुप हुन सक्दैन? अझ भनौं किन हुनु हुँदैन जस्तो लाग्छ तँलाई?”
मोहित भन्छ “ति त सब मेरा आफन्त हुन्, कसरी…”
देवदुतले उसलाई बीचैमा रोक्यो र भन्यो “तँ पनि तिनिहरु भन्दा कुनै तबरले कम छैनस् । जब तँ आफु नै शुद्ध छैनस् भने उनिहरुको अशुद्धिको चर्चा गर्ने अधिकार पनि राख्दैनस्।”
मोहितले सोध्यो “मेरा आफन्तको वा मेरो आफ्नै पनि नराम्रो रुप किन देख्दिनँ त म?”
देवदुत भन्छ “किनभने तँ देख्न चाहँदैनस्। तँ आफुले जे गरेँ त्यो सब ठिक हो भनेर बाँच्छस्, तेरा आफन्तहरुले तँलाई माया गर्छन् वा गर्नैपर्छ भन्ने मान्यतामा बाँच्छस्, देख्न नचाहेको कुरा कसरी देख्छस् त!”
मोहित चुप भयो। मनमा अनेकौँ बिचारहरुको कुस्ती चल्न थाल्यो। म कुन रङ्गको चस्माले कसलाई हेरुँ? उनिहरुको राम्रो पक्ष देखिने चस्माले हेरुँ भने उनिहरुको नराम्रो पक्षले मलाई घात गरिरहन्छ। सबैको नराम्रो पक्ष देखिने चस्माले हेरुँ भने उनिहरुको राम्रो पक्षमाथि घात हुन्छ  साथसाथै म नितान्त एक्लो हुन्छु। म के गरुँ…..
“के यी सबै चस्माहरुलाई एउटै चस्मामा समाहित गर्न मिल्दैन?” मोहितले फेरि सोध्यो। देवदुतले जवाफ दियो "मानव चोलामा यो सम्भव छैन" त्यसको लागि त दिव्य दृष्टि चाहिन्छ।
देवदुतले भन्यो "मनुवा किन आत्तिन्छस्?  यी मैले देखाएका चस्मा तेरो जीवनमा प्र्याप्य छैनन् तर यिनका सरलिकृत रुप तेरा मन-मष्तिस्कमा कुँदेर पठाईएको छ। ईश्वरले तँलाई विवेक र ज्ञान दिएका छन्, हरेकलाई तेरो ज्ञानको आँखाले हेर् ईश्वरीय चेतनाको उज्यालोमा नाप तौल गर्। कसैलाई गलत चस्माले हेर्ने गल्ती कहिल्यै नगर्"।
“यति विशाल संसारको रचना गर्ने ईश्वरको उत्कृष्ट सृष्टि मानवको डिजाईनमा कत्रो फल्ट।” मोहित सोच्दै थियो तर देवदुतले पक्डिहाल्यो र भन्यो “के रे? मानव कसरी उत्कृष्ट सृष्टि? यो त मानवले आफैँलाई गुथाएको पगरी हो, तैँले आफु र तेरा आफ्नाहरु तामस हुनै सक्दैनन् भने जस्तै!”
“अनि ईश्वरको डिजाईनमा फल्ट होईन मुर्ख, यो त सृष्टि सन्तुलनको साधन हो। कसैले पुरुष र प्रकृति, कसैले पोजेटिभ र नेगेटिभ, कसैले यिङ्-याङ्, कसैले स्वर्ग-नर्क, कसैले Good-Bad, कसैले अँध्यारो‍-उज्यालो, कसैले Matter-Antimatter, कसैले श्राप-आशिर्वाद, कसैले गुन-बैगुन कसैले के कसैले के …. अनेक रुपमा यसलाई बुझेका छन्। न एउटा ठिक हो न अर्को, न एउटा शक्तिसाली न अर्को। एउटा विना अर्को अस्तित्व सम्भव छैन। तेरा लागि जुन राम्रो अर्काका लागि त्यो नराम्रो। ईश्वरले दिएको गिदीको पनि जम्मा ९-१० प्रतिशत मात्र प्रयोग गर्न सकेको हे मानवरुपि तुच्छ जीव, ईश्वरको रचनामा खोट लगाउने भन्दा पनि यसलाई सुन्दर उपहार जानेर जति बाँच्छस् खुशि हुँदै बाँच्न सिक्। तेरो चेतनारुपी रङ्गीन चस्माले हेर् यो जगतलाई, तेरा छालाका आँखाले हैन।”
मोहित ब्युँझियो। अचम्म लाग्दो सपना थियो। उसले सपनाको अर्थ खोज्न चाहेन ….. सपनामा देवदुतले दिएको ज्ञानले बाँकि जीवन अर्थपुर्ण बनाउने निधो गर्यो।

0 comments:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons