चिया महात्म्य

MP
त्यस्तै ३-४ वर्षको हुँदाको कुरो। बुवाआमा र अन्य ठुलाहरु आफु शानसँग चिया खाँदै "हट्! भुराभुरीले चिया खान हुँदैन, ल यो दूध खा" भन्थे र २ डाडु दूध मन्छिन्थे। त्यहि दूधको गिलासमा वहाँहरुको नक्कल गरेर सुरुप्प सुरुप्प पार्दै, अलि पछि तिनै ठुलाले गिलासको पिँधमा छोडेका एक घुड्का चिया सबैको आँखा छलेर खाँदै अनि अझै पछि रुवाबासी मरिहत्ते गरेर आफ्नै भाग चियाबाट शुरु भएको यो चिया खाने बानी।

साँच्चै भन्दा "चिया" भनेर त पहिलो र दोस्रो पल्ट ससुराली जाँदा मात्र भनियो होला। नत्र यसको ठेट नामले नै बोलाईयो र बोलाईन्छ "च्या"। चिया भन्दा त सिरियसली, यसको मानहानी हुन्छ।
"यो मोरो कमको अल्छी छ च्या नखाई त आँखा नि खुल्दैन यसको" हरेक दिन बिहान आमाले यहि भन्नु हुन्थ्यो, "आमाले बनाको च्याको कुरै नगरौँ" भन्दै फुर्क्याउँदै च्या सुर्क्याउँदै। के गर्नु कहिल्यै नसुध्रिने भइयो, च्या नखाई नब्युँझिने बानि अझै छ।
ठूलो मामा च्या को विशेष सौखिन! रङ्ग कडा चिनी बढा, दूध हाल्न नडरा सिद्धान्त को च्या चाहिने वहाँलाई। त्यसैले मेरालागि च्या भनेको ठूलोमामाको घरको जस्तो हुनुपर्छ भन्ने एउटा मापदण्ड नै बन्यो।
घर बसेको दिन ३ कप, स्कुल गएको दिन २ कप, मामाघर गएको बेला त ४-५ कप च्या खाने चलन बस्यो। मेरो घर नजिकै अभावमा बुढेसकाल गुजार्दै गरेकी एक आमै थिईन। गाउँमा कसको घरमा कति बेला च्या पाक्छ उनलाई थाहा हुन्थ्यो, स्वाँ स्वाँ गर्दै सबैको घर पालै पालो पुग्थिन्। हाम्रो घरको पालो परेको दिन आएर पिँढीमा टुसुक्क बस्थिन र "दुलही! त्यहि एक मुठि तातोको लोभले आ’की" भन्थिन्। म उरन्ठेउलोलाई के चाहियो, घरि घरि अरु दिनपनि आमालाई त्यही टोनमा च्याको फर्माईश गर्थें।
त्यसपछि त अनेक नाममा च्या खाइयो। घर वरपर मिश्रदाईको च्या, कर्न दाईको च्या, नखलाले को च्या, गिर्रा पसलको च्या। स्कुलमा नेप्टेको ढ्वाङको च्या, मधिसेको गाडाको च्या, भोटिनीको पसलको च्या। नाङ्गलो जत्रो SLC सकिएपछि कलेज ब्वई भईयो। अनि त्रिचन्द्र पढ्दा क्यान्टिनको आलु चप र च्या। त्रिचन्द्र पढ्दाको एउटा साथि साह्रै चन्चले (सायद छट्टु भन्नु पर्ला) थियो। म च्या अर्डर गर्छु भनेर जान्थ्यो, अनि अर्डर गर्दा गर्दै कसो कसो त्यो क्यान्टिन वालाको आँखा छलेर त्यहाँ ट्रे मा राखेको दुइटा आलु चप एकै गाँस हाल्थ्यो अनि फेरि हामी भएतिर फर्कँदा म र अर्को साथि (हामी हुतिहाराहरु) को लागि पनि चप टप्काउँथ्यो। हामी डरले थुरुरु हुँदै मुख नहल्लियोस भनेर जिब्रोले मक्ल्याकमुक्लुक पार्थ्यौँ। ऊसले खुवाएको फ्रि चपको गुन "यल्ले कुन दिन नराम्रो फसाउँछ" भन्दै तिर्थ्यौँ। स्वबियू चुनाव को सिजन चलेका बेला त क्यान्टिन मा च्या फ्रि पनि पाईन्थ्यो। त्रिचन्द्रको च्याको बेग्लै मेमोरी छ।
BE पढ्दै गर्दा कालिमाटी तिर दशौँ किसिमका च्या खाइयो गार्डेनको च्या, पुरी पसलको च्या, नान पसलको च्या, ढावाको च्या.. पुल्चोक कलेजमा साँझको क्लासमा ME गर्दा क्यान्टिनको च्या KEC मा पढाउँदा रामकृष्ण दाईले बनाएको च्या पनि अनरेवल मेन्शन मा पर्छन।
यतिबेला सम्म त ससुराली जाने हैसियत भईसकेको थियो। ससुरालीमा भने एक त ज्वाँईपन देखाएर "चिया" भन्न मन लाग्यो अर्को चाहिँ त्याहाँ च्याको  महत्व अलि कमै रहेछ। बुढिले मर्म बुझेकिले च्या को लिगेसि कायमै रह्यो।
पछि PhD गर्न BYU पुगियो। पुग्नासाथ थाहा भयो कि कलेजको अनर कोड अनुसार कलेज भित्र वा बाहिर वा कलेजको हाउजिङ्गमा कतै पनि रक्सि चुरोट क्याफिन खानै नपाईने रहेछ। रक्सि चुरोट त आफ्नो कार्यक्षत्रमा नै परेन वास्ता नि लागेन तर क्याफिन अर्थात कफि कोक अनि प्यारो च्या पनि पो बर्जित, सुन्दा पनि उदेक नै लाग्यो। एक त जेट ल्याग ले वाक्क लगाएको त्यसमाथि च्या खान पाइएन। "कुनै पनि बेला चेक गर्न सकिनेछ" लेखेको थियो नियममा, आफु नभएको बेला आएर च्या फेला पारेर फेरि नेपाल नै फिर्ता पठाऊने पो हुन कि भन्ने डर ले गर्दा च्या खान थालेको २०-२२ वर्ष पछि पहिलो पल्ट २-४ हप्ता च्या खाईएन। पछि रैथाने भईसकेका नेपाली बन्धु वान्धब बाट जुक्ति थाहा पाईयो। हर्वल टि को बक्समा आफ्नो असल च्यापत्ति राख्ने। मोराहरु जिन्दगीभर च्या नखाका गोराले हर्बल हो कि कुन कसरी छुट्टयाउने। त्यो दिव्य ज्ञान पाएको दिन त ५-७ कप नै गयो। बल्ल लाईफले रियल पेस लिन थाल्यो।
हुन पनि के अचम्म हो। सानामा वा टिन एजर हुँदा असाध्यै मन पर्ने सबै कुरामा आँत पुरिँदै आयो। तर जिन्दगीले दशकौँ दशक पार गर्दा पनि च्यामा मन रमाउने चाहिँ ज्यूँ का त्यूँ छ।
बुढिलाई च्यामा त्यत्ती साह्रेेै रुचि छैन, कहिले काहीँ खाईदिई पनि हाल्छीन। आफू घर हुँदा त यो बूढो भन्ने जिनिस बिहानको च्या नखाई हल्लिन सक्दैन भनेर मायामय च्या खुवाउँछिन। तर भोलि बिहान त आफू उठ्दा उनि अफिस पुगिसक्छिन। त्यसैले अहिले सुत्ने बेलामा बिहानको लागि आफ्नो जोहो गर्नु पर्यो भनेर फ्रिज उघारेको त दूध सिध्दिएको रहेछ। भोलि बिहान ठण्डाराम हुने भईयो भनेर सोच्दा सोच्दै यो च्या महात्म्य रचिएछ।



0 comments:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons