Happiness को खेती

MP
आज राजेश र माया बेग्ला बेग्लै काममा गएका, राजेश अलि चाँडै फर्कियो। गाडि भित्र राख्दा राख्दै "आज त बुधबार है!" भन्ने सम्झियो अनि घर भित्र पनि नपसी करेसा मा राखेको फोहोर हाल्ने डम्प्स्टर (ढ्वाङ्ग) गुडाउँदै घर अगाडि बाटोको किनारामा लगेर राख्यो। हरेक बुधबार मायाले "ए बुढा भोलि फोहोर आउने दिन हो नि ट्र्यास राख्न बिर्सेला" भनेर सम्झाउनु पर्थ्यो उसलाई। "कुनै दिन आफैँ सम्झेर गरिदिए पनि हुन्थ्यो नि कुनै काम" माया गुनासो गर्थि ।
धेरै जस्तो त  मायाको गुनासो सुनेको नसुन्यै गरिदिन्थ्यो तर कहिले चाँहि त्यसैले ठुलै बिवाद निम्त्याउँथ्यो। माया ठिक तर्क गर्थि "तिमी र म बिहान सँगै काममा निस्किन्छौँ, दिनभर तिमी र म बराबरै जस्तो काम गर्छौँ तर साँझ घर फर्के पछि यो घर चाहिँ मेरो मात्रै जस्तो सबै कुरा मैले नै जिम्मा किन लिनु पर्ने?" राजेशले बोल्ने ठाउँ भेट्दैनथ्यो अनि १-२ दिन ट्र्याकमा आउँथ्यो अनि फेरि उस्तै। आज चाँही राजेशले आफैँ फोहोर तह लगायो। ट्र्यास क्यानलाई टुङ्गोमा पुर्याए पछि छाति फुलाउँदै लामो सास तान्यो र मनमनै सोच्यो "आज चाहिँ छोरोले घर धान्यो है!"
घरतिर छिर्दै गर्दा उसका आँखा मुल ढोका अगाडि ढकमक्कै फुलेका गुलाब माथि परे। पिङ्क, गाढा रातो, पहेँलो, सुन्तला रङ्को सबै थरि फुल असाध्यै मनमोहक देखिएका थिए। सँधैँ उ सिधै गाडि ग्यारेजमा हुल्थ्यो अनि त्यहिँबाट घर छिर्थ्यो। २ महिना जस्तो अघि बाहिर घाँस काट्न आउने मान्छेले ती गुलाबका हाँगा सबै काटेर ट्र्यास क्यानमा हालेको याद गरेको थियो उसले। तिनै ठुटा पलाईवरि बढेर यत्तिका फुल फुलि सकेछन्। राजेशको मनको एउटा पाटो तिनै गुलाबको सौन्दर्यमा लट्ठियो भने अर्को पाटो एक तमासको भएर आयो। भुईँमा हेर्यो, झण्डै बोटमा भए जत्तिनै फुल झरि पनि सकेछन् त्यसको मतलव त यी फुलहरु १-२ हप्ता अघिदेखि नै पो फुल्न थालिसकेका रहेछन त, मनमनै सोच्यो। आफ्नै दैलो अगाडि यसरी सजिएको वसन्त उसले देख्दा पनि देखेन। जुन तरिकाले उसको जीन्दगि बित्दैछ त्यो सोचेर उ त्यत्तिकै बिरक्तियो। सँधै काम सँधै हतार सँधै बेफुर्सदमा नै बितेका दिनहरु अनि ती दिन सँगै बितेको उसको जीन्दगिका अमुल्य क्षणहरु…. राजेशको मन झनै बेचैन भयो। सँगै कुनामा कतिवटा पत्रिकाका पोका र टेलिफोन डारेक्टरी त्यत्तिकै लडिरहेका, पानीले भिजेर ढुसी पर्न थालेका पनि देख्यो। घर अगाडिको लन मा त घाँस कति राम्रो हरियो पो भैसकेको रहेछ, आज बल्ल याद गर्यो। पानीको सङ्कट भएर लनमा सिंचाई नगर्नु भनेर सिटी अफिसले चिट्ठी पठाएको दिन हेरेको थियो राजेशले त्यो लनको घाँस। त्यस पछि हिउँदको चिसो खपेर वसन्त ऋृतुसँगै मौलाई पो सकेछन्। घर भित्र पनि नछिरि उ त्यहिँ पोर्चमा राखेको बेन्चमा बस्यो तर उसको मन चाहिँ कताकता उड्न थाल्यो।
बस्दाबस्दै सानोछँदाका दिन याद आयो। टङ्गिनका खेतका डिलमा ऐँसेलु कहिले फुल्छन्/फल्छन् पनि याद हुन्थ्यो कुटिलकोसा र थाकल का डुकु पाईने सिजन याद हुन्थ्यो मकैबारीमा चरिअमिलो कहिले लहलहाउँछन् थाहा हुन्थ्यो गुराँस फुल्ने सिजन त उल्लुलाई पनि थाहा हुन्थ्यो।
सान फ्रान्सिस्को बे बाट आएको शितल हावा (जसलाई Bay breeze भन्छन्) ले उसको निधारमा मुसार्यो। चिटचिट पसिना आएका रहेछन् निकै राहत पुग्यो। बाटोपारीको घर बिक्रिमा थियो, २-३ महिना अघि नै For sale को बोर्ड झुण्ड्याएका थिए। राजेश र मायालाई अब के कस्ता मान्छे आउने हुन् त्यो घरमा भनेर चिन्ता लागेको थियो। तर आज देख्दैछ त्यहाँ त एउटा बूढो कालेका श्रिमान श्रीमती पो आइसकेछन्। "हत्तेरिका नयाँ छिमेकी, यसो हाई-हेल्लो पनि गर्न गईएनछ"। उ मनमनै पछुतायो।
यो सबै माहोलले राजेशलाई आफ्नो जीन्दगी एउटा गन्तव्य बिहीन दौड भए जस्तै लाग्यो, कहाँ पुग्ने थाहा छैन तर बेतोडले कुदेको छ कुदेको छ छाति फुटुन्जेल। दायाँ बायाँबाट खेलाडिलाई चियर गर्न बसेका उत्साही दर्शकको ताली र हुटिङ्ग बेवास्ता गर्दै फिनिश लाईनमा आँखा गाडेर कुदेको खेलाडि झैँ पो भएछु जस्तो लाग्यो। फेरि सोच्यो "हैन! त्यो भन्दा पनि गए गुज्रिएको म त, त्यो खेलाडीको त एउटा लक्ष्य त छ, म कहाँ पुग्न यसरी कुदेको?" उसले आफ्नो सामु आफैँले एउटा अनुत्तरित प्रश्न तेर्स्यायो।
१० बर्ष जति अघि उसले फेसबुक स्ट्याटस राखेको थियो "Searching happiness"। मनमनै सोच्यो "हो म त्यही ह्याप्पीनेश भेट्न कुदेको"। अनि तुरुन्तै आफुलाई खिशी गर्दै हाँस्यो र भन्यो "बाटो भरि भेटिएका हरेक खुशीका क्षणहरुलाई नजरअन्दाज गर्दै कुन खुशी खोजेको त मैले? कस्तो ह्याप्पिनेश?" अचानक उसलाई आफ्नो जिवनको फिलोसोफी नै डिफेक्टिभ लाग्यो दोषयुक्त लाग्यो। मनमनै गम्यो "Happiness is not a destination, it’s a journey"। बिस्तारै बेन्चबाट उठ्यो, Bay breeze चल्दै नै थियो। बिस्तारै घाम अस्ताउने शुरसारमा थियो। उसले क्यालिफोर्नियामा सूर्यास्त कहिल्यै हेरेको रहेनछ। मनमनै सोच्यो "सूर्योदय पनि त हुन्छ नि है"।
घर भित्र नछिरी करेसाबाटै घर पछाडी (ब्याक यार्डमा) गयो। अलि ओझेल परेको थियो, देख्यो पछाडी फुल रोप्ने ठाउँमा झारै झार उम्रेछन्, बारभरी लहरे घाँस सप्रेर फुलेछन् छिमेकीको तिर पनि पो झर्न थालिसकेछन्। उसलाई कामबाट फर्केर आएपछि मायाले भान्छा सम्हाल्दै गर्दा फोनमा ईन्टरनेट सर्फिङ्ग गरेर बिताएका समयले पोल्न थाले। सोफामा त्यत्तिकै चार हात खुट्टा र शरीर मिल्काएर मायाले कति बेर लगाएकी खाना बनाउन वा किन आफुलाई मन पर्ने डिनर नपकाईदिएकी भनेर घोक्रो फुलाएकोमा आत्मग्लानी भयो। कामबाट फुर्सद हुने शनिबार र आईतबारका दुवै दिन ताईँ न तुईँका सिनेमा हेरेर र फोनमा फेसबुक र गेम खेलेर नाश गरेकोमा अपराधवोध भयो। "त्यो समयमा त मैले यहाँ कति फुल फुलाउन सक्थेँ, कति ह्याप्पिनेशको खेती गर्न सक्थेँ, प्रकृतिले सित्तैमा दिएका खुशीमा रमाउन सक्थेँ, मायालाई सघाउन सक्थेँ, मायालाई कुनै दिन भान्छाबाट ब्रेक दिन सक्थेँ।" राजेश आफुले आफैँलाई बेस्सरी गाली गर्यो तिरस्कार गर्यो बहिस्कार गर्यो तुच्छ जीवसरी घृणायुक्त दृष्टिले हेर्यो र तप्प तप्प दुई थोपा आँशुमा आफैँलाई बगायो। बिस्तारै bay breeze ले आँसु सुकाईदियो, लहरे घाँसका फुलहरुले सम्झाए, डुब्दै गरेको सूर्यले सान्त्वना दियो, राजेश बिस्तारै सम्हालियो।
त्यसपछि उ हतार हतार घर छिर्यो। फ्रिजमा भएका खाना भटाभट तताउन थाल्यो। खाना तात्दै गर्दा टि-टेबल र दुईवटा कुर्सी घर पछाडी लग्यो अनि खाना खाँदा चाहिने सबै कुरा पनि जुटायो। यस्तैमा माया पनि घर छिरी। माया आउनु अघिनै राजेशले आफ्नै बारीमा फुलेको रातो गुलावको एउटा थुङ्गा टि-टेबलको माया बस्ने साईडमा सजाएको थियो। मायाले मानौँ भूत नै देखे झैँ ठुला ठुला आँखाले राजेशको चालामाला हेरी। राजेशको मनमा चलेको ऊथलपुथल र उसमा आएको परिवर्तन मायाले बुझि कि बुझिन राजेशले मेलो पाएन। ब्याक यार्डमा डिनर खाँदै गर्दा माया सर्प्राईज्ड थि भने राजेश निकै खुशी थियो।

0 comments:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons