मोडिफाईड तीज !

MP
अहिले सबैतिर कति रमाईलो तीजको माहोल छ, घर घरमा आमा-दिदी-बहिनी सबै रङ्गिएका छन्, आफुसँगै शहर, बजार, मन्दिर, चोक सजाएकाछन्। त्यतिमात्र कहाँ हो र, कहाँको गोरे मार्क जुकरबर्गको फेसबुकलाई पो लागेको छ मुख्य तीज त। नेपालीको ठुलो जमात अनि टाईम जोनमा निकै अगाडी पर्ने अष्ट्रेलियाबासी नेपालीले प्राय: हरेक चाडको फेसबुक शुभारम्भ गर्छन। अनि बिस्तारै आगो सल्किएझैँ सबैतिरबाट "राम्रा राम्रा" फोटोहरु (बेस्ट एङ्गल, बेस्ट शट!!") फेबुकमा आउन थाल्छन! नेपाली पात्रोकोमा आउनु धेरै अगाडिदेखि शुरु हुन्छ हरेक चाडको महोत्सव (एक दिनको चाड कैयौँ दिन लम्बिएपछि महोत्सव त भन्नै पर्‍यो!)। अचेल तीज लगायत चाडको तिथी मिति मोडीफिकेशन भएको छ। कहिले देखि कहिले सम्म मनाउने भन्ने कुरामा.....      
      तीज भनेको बिबाहीत छोरी माईती जाने अनि दर खाने, दिदीबहिनी-साथीसँगीहरु सँग नाच्ने-गाउने, सप्तऋषी र महादेवको पुजा गर्ने चाड हो भनेर स्कुलमा पढेको याद आउँछ। हरेकका घरमा सुटुक्क खाईने तीजको दर अब त सबैले सबैलाई बोलाएर खाने खुवाउने 'दर पार्टीमा' परिणत भएको छ। एक प्रकारले हेर्दा सबैजना मिलेर ठुलो जमातमा रमईलो गर्नु राम्रो पनि हो। तर रमाईलो को नाम मा शो-अफ धेरै हुन थालेपछि यस्ता रमाईलो हरु बोझ हुन थाल्छन। हुन पनि अचेल त दर खाने कार्यक्रम पार्टी प्यालेसमा, रेष्टुरेण्टमा हुन थालेछन्। कसो कसो रमाईलो गर्ने पर्व त सोसियल स्टाटस को मापन गर्ने कडि पो बन्न थालेछ।
पहिले पहिले एउटा उखान सुनिन्थ्यो "सराद्‍दे को सालो तीजको ज्वाँई"। तीजको बेलामा ज्वाँई ससुराली जानु भनेको दूनियाँ हँसाउने कुरा हुने रहेछ यो उखान चल्दा ! तर अहिले यदि ज्वाँईलाई आउन मिलेन भने दरको प्रोग्राम नै चेन्ज हुन्छ। ज्वाँईलाई आफ्नी छोरी बिहे गरिदिए बापत भगबान मानेर खुट्टा ढोग्ने-ढोगाउने चलन भएको हाम्रो पुरातनवादि समाजले तीजमा ज्वाँई बर्जीत गर्ने चलन चलाउनु भनेको कम्ता बोल्ड शुरुवात थिएन होला! तर आधुनिक तीजमा ति सबै चलन फेरिए। नारी पर्वको रुपमा स्थापीत एक मात्र चाडको मर्मलाई नमार्दा के हानी पुग्थ्यो र, म र म जस्ता ज्वाँईनारानले एकछाक भुँडी नफुलाउँदा के जान्थ्यो र!  
हाम्रा हरेक चाडपर्व कुनै न कुनै तरिकाले धर्म सँग जोडिएका छन्, हरेक चाडमा पुजाआजा सम्मिलित हुन्छ। धर्मको व्याख्या जे जस्तो गरिएपनि भौतिकतावादि रुपमा भन्नु पर्दा समाजलाई अनुशासित राख्नु र विचलन आउन नदिनु नै यसको मुख्य औचित्य हो। तीजको दिन निराहार व्रत बसेर लोग्नेको पुजा गर्नु पर्छ भन्न खोजिएको चाहिँ हैन, गलत अर्थ नलागोस है फेरि!!!! बिशेष गरी खानपान र रमाईलोले यस्ता चाडहरुलाई धावा बोल्दैछन् र यसरी धार्मिक पाटो विलिन हुदै जानु भनेको सामाजिक क्षय हो।
पहिले पहिले हजुरबाले हाम्रा चाडपर्व किन मनाईन्छन् भनेर सिकाउनु भाएको याद आउँछ। भन्नुहुन्थ्यो "हरेक बर्ष एउटा 'गोबर्खा' र एउटा 'आबर्खा' आउँछ। साउन लागेपछि वर्षा ऋतु सकिन थाल्छ र यसलाई ठेट भाषामा गोबर्खा भन्छन्। आनि माघ महिनापछि फेरि हावा हुरी, सुख्खायाम हुँदै फेरी बर्षा शुरु हुन्छ त्यसैले त्यसलाई आबर्खा भन्छन्। आबर्खामा बाढी-पहिरो जस्ता प्रकोपबाट मर्ने बाँच्ने ठेगान हुँदैन त्यसैले त्यतिबेला कुनै चाड पर्व आउँदैनन्। अनि गोबर्खालागेपाछि अब बाँचियो भनेर मान्छेले रमाईलो गर्न चाडपर्व मनाउन थाल्छन्। बुझिस् लाटा!" मन्‍मन्‍मा लाग्थ्यो "हो त!! त्यहि भएर दशैँ, तिहार साउन पछि आएका"। हजुरबाको चाडपर्व थ्योरी त्यतिबेला त क्रिश्टल क्लियर बुझेझैं लाग्थ्यो, तर अहिले हेर्दा त चाड पर्वका मान्यता सबै फेरिएझैँ पो लाग्दै छ त!! परिवर्तनशील समाजमा हरेक कुरा परिवर्तन हुनु राम्रो हो, तर परिवर्तन को नाममा विकृती स्वीकार्य हुँदैन। परिवर्तन र विकृती बीचको साँघुरो फरक चिन्न आवश्यक छ!
अन्त्यमा, तीज रमाईलो रहोस्, सम्पूर्ण महिलाहरुलाई "तीजको शुभकामना!!"

0 comments:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons