आगोमा नपरि धपक्क नबलि कुन् सून चम्कन्छ र
माटोमा नमिलि हिलाम्य नबनि कुन वीज उम्रन्छ र
कोईला पनि ताप-चाप नखपि हीरा कहाँ बन्छ र
पुरै रात गुमाई साख अनि पो झुल्किन्छ नि सूरज।।
धस्नै पर्छ घुँडा अनि लडि-लडि पहिलो कदम् चल्दछ
खस्रा घुम्ती सही बगेर सरिता समून्द्रमा मिल्दछ
दीयोले पनि रातभर् जलि-जलि फैलाउँछे रोशनी
मृत्युको मुखमा पुगेर जननी जन्माउँछिन् जीवनी।।
पैँताला नखियाई यत्न नगरि गन्तव्य को पुग्दछ
कस्ले चुम्छ शिखर् उकालि नचढि पर्वत कहाँ झुक्दछ
पाउँदैन बसन्त आउन चिसो शिषीर नआईकन
कुवाको जल आउँदैन घटमा डोरी नतानिकन ।।
ज्योतीको महिमा हुँदैन दिनमा निस्पट्ट निशा बिना
हाँसोको कसरी म मापन गरुँ आँशु नपोखिकन
पानी खोजी कहाँ म हिँड्दछु त्यसै तिर्खा नलागिकन
कस्ले खोज्दछ स्वर्ग यो धरतीको पीडा नभोगिकन ।।
सृष्टि को तरिका सफल् हुनु अघि थुप्रै चुनौतीहरु
आउँछन् विचलित गराउन भनि बाधा र अड्चन् हरु
उल्टो सोचि रहेँ अबुझ् बनी-बनी यी हौसला पो थिए
म आफ्नै भ्रममा भुलेर विधीको निन्दा गरि नै रहेँ।।