अङ्ग्रेजी बोल्ने रहर

MP
हरेक दिन नयाँ नयाँ मान्छे भेटिन्छन, पुराना मान्छेका नयाँ-नयाँ बानि देखिन्छन। यस्तै एउटा जम्का भेटले यो ब्लग लेख्न उत्सुक बनयो। १-२ दिन अघिको कुरा हो, बच्चा-बच्चीको स्कुलको युनिफर्म किन्न मलमा थियौँ। मान्छे नै मान्छेको भिड छिचोल्दै केटाकेटीकै तालमा हिड्दै थियौँ, उनीहरुले सोधेका अनेकन प्रश्नको जबाफ दिंदै यो यस्तो-त्यो त्यस्तो भनेर ब्याख्या र वर्णन गर्दै एउटा पसल र अर्को पसल गर्दै थियौं। यस्तैमा सानी छोरीले हात छोडेर अगाडी अगाडी कुद्न थाली, उसलाई Escalator मा तल माथि गर्न खुब रमाइलो लाग्छ, त्यही देखेर कुदेकी रैछे। छोरी कहाँ नै पुग्ली भनेर ओइ.…….…. नानी पख ……. एक्लै नजाउ भनेर कराइयो, नेपालीमै। छोरी टक्क अडीई। अगाडीबाट हामीतिर हिड्दै आएको एक जोडीले यो सबै क्रियाकलाप देखेका रहेछन अनि नजिकै आएर सोधे "आर यु फ्रम नेपाल?"

यस्तो अप्रत्याशित सोधाइले हाम्रो लय टुट्यो र कसले सोध्यो हँ भनेर मुखमा हेरियो। नेपाली जोडी नै रहेछन, तर पहिला भेटघाट भएको थिएन। नेपाली हुन् भन्ने भएपछी दिमागले खै के प्रोशेसिंग गर्यो, मुखबाट निस्कियो "हो त, कसरि थाहा पाउनु भयो?" अनि श्रीमान चाहिँले जबाफ दिनु भयो "वि जस्ट ह्यर यु टक"  (We just hear you talk) अनि श्रीमतीजीले थप्नु भयो "अ ऊऊउ दिस गल सो क्युट" ( Awwwww! this girl so cute) प्राय: यहीँ जन्मी-हुर्की गरेका केटाकेटीले हत्तपत्त नेपालीमा कुरा गर्न मान्दैनन् त्यहि भएर उनिहरुसंग अंग्रेजीमा बोलेका होलान्  जस्तो लाग्यो अनि कुरा अगाडी बढाउनु पर्यो भनेर सोधें "पहिला त भेट भएको थिएन, कता बस्नु हुन्छ?" श्रीमतीजीले झटपट भन्नु भयो "या विई लिभ्ड इन डाउण्टौन" (Yeah we lived in downtown). कडा अङ्ग्रेजी जाँदै छ त जस्तो लाग्यो अनि मुखबाट निस्कियो "ए हजुर"!
खै के भन्ने के भन्ने जस्तो लाग्यो अनि "हामीहरु यता भर्खरै सरेका सबै जनालाई चिनिसकेका पनि छैनौं, तपाइँहरुलाई भेटेर खुशी लाग्यो" भन्दै कुराकानी टुङ्ग्याउन खोजें। श्रीमानजीले भद्र टोनमा भन्नु भयो "वी एराइभ अमेरिका वान य्याण्ड ह्याफ यर्श एगो" (We arrive America one and half years ago). त्यसपछि परिचय र फोन नम्बर आदान-प्रदान भयो अनि "हस त भेटघाट गर्दै गर्नु पर्छ, अहिले केटाकेटीहरुलाईले हतार लगाइसके, नमस्कार" भन्दै बाटो लागियो. केटाकेटीले पनि बाआआई भन्दै सहयोग नै गरे।
धेरै बर्ष अघि पिताजीले बेलायतबाट पढेर फर्केपछि, बिदेशमा हुँदा इन्डियनलाई भेटे छिमेकी भेटेझैं अनि नेपालीलाई भेट्दा आफन्त भेटेझैँ लाग्दो रहेछ भन्नु हुन्थ्यो। झन्डै २५ वर्ष अगाडिको त्यो माहोल त अब रहेन किन भने संसारको कुनै पनि शहरमा आजभोली नेपाली बन्धु-वान्धव भेट्न त्यत्ति गाह्रो छैन। नेपालीलाई पिता - पुर्खाको दशैंको आशिर्बाद लागेकोछ, साँच्चै नेपालीका सन्तानले डाँडा-काँडा ढाकेका छन। तर पनि विदेशीहरुको भिडमा नेपाली भेट्नु अझै पनि खुशी कै कुरा लाग्छ।
त्यो दिन भेटेको नेपाली जोडीको तारिफ त मैले गर्नै पर्छ, बाटोमा भेटेको मान्छेलाई बोलाउनु भयो कुराकानी गर्नु भयो, मेरा केटाकेटी लाई राम्रो मिजासले बोलाउनु भयो! तर मैले यहाँ कुरा गर्न खोजेको उहाँहरुको अङ्ग्रेजीको हो। 
विदेशी भूमी, जहाँ माध्यम भाषा अङ्ग्रेजी छ त्यहाँ आउने सबैले अङ्ग्रेजी जान्नै पर्छ, राम्रो आओस या कामचलाउ आओस्। काममा छँदा, जहाँ सबै बिदेशी हुन्छन त्यहाँ नेपाली बोल्ने त कुरा आएन। तर नेपाली-नेपाली भेट हुँदा पनि सकी-नसकी कतै Tense, कतै Verb त कतै Singular/Plural बिगारेर अनि सुन्दै उराठ लाग्दो उच्चारण गरेर अङ्ग्रेजी बोल्नुको तात्पर्य के हो बुझ्न सकेको छैन। मैले मलमा भेटेको जोडी त एउटा स्याम्प्ल मात्र हो, टुटे फुटेको अङ्ग्रेजी बोलेर आफ्नो समुदायमा अरु भन्दा बिशिस्ट गनिन खोज्ने जमात ठुलो अन्य भाषा बोल्ने मनिसहरुसंगको माध्यम भाषा को रुपमा अङ्ग्रेजीको प्रयोग आवश्यकता हो, तर आफ्नै समुदायमा, त्यो पनि अशुद्ध अङ्ग्रेजी बोल्नु भनेको ढोंग मात्र हो।
धेरै बर्ष अगाडी नेपाली पढाउने सरले भन्नु भएको ब्यङ्ग्य कथा यहाँ फेरी सान्दर्भिक भएको
अलि अगाडिको कुरा रहेछ, जति बेला नेपालीहरु वनारस वा भारतको विभिन्न बिश्वबिद्यालय गएर पढ्ने चलन थियो। एउटा प्रगतिशील शिक्षा को महत्व बुझेको परिवारले छोरोलाई भारत पढ्न पठाएछन्। धेरै वर्ष पढेपछि छोरो घर फर्कदै रहेछ। बाटोमा काका संग भेट भएछ, काका भतिज कुरा गर्दै घर जाँदै रहेछन। घर पुग्ने-पुग्ने बेला तिर गोरेटो बाटोको दुवैतिर मकैबारी रहेछ अनि मकैका बोट लहलह गर्दै बढ्दै रहेछन  भतिजोले काकालाई सोधेछ "अरे चाचा जी, ये लम्बा लम्बा पत्ता वाला क्या है?" अघि भेटे देखि नै धक्कु दिदै र हिन्दीको ढोंग पिट्दै आएको भतिजोको कुरा सुनेर काकाको कन्सिरीका रौँ तातेछन झोकै-झोकमा पछाडी बाट *** मा दह्रो लात हानेछन। भतिजो २ बल्ड्याङ्ग खाँदै मकै बारीमा लड्न पुगेछ। अनि बारीमा भ्यागुतो पछारिए झैँ पछारिएर काकालाई सोध्दो रहेछ "काका किन लात हान्नु भएको? मकै बारीमा पुग्ने गरि?"
यसरि काकाको एक लातले भातिजोको उम्लिएको तुजुक सबै ठिक ठाऊँमा आएछ, अनि उसको बोलीचाली "चाचाजी" बाट "काका"मा अनि "लम्बा लम्बा पत्ता" बाट "मकै" मा झरेछ।
संसारको जुन कुनामा रहेपनि हामि नेपाली हौँ, नेपाली भाषी हौँ, यहि नै हाम्रो सम्पदा अनि पहिचान हो। परिस्थिति र अवश्यकता अनुसार अन्य भाषा बोल्न जान्नु भनेको काबुलियत हो, आवश्यकता नपरेको ठाउँमा नेपान्गलिश बोल्नु भनेको फाटेको लुगा आफैंले अझ च्यात्दै आफुलाई नंग्याउँदै हिड्नु हो।
*****

0 comments:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | JCPenney Coupons